मकवानपुरको हेटौंडा–१६ गैरीगाउँमा जमिन भासिएर गाडी हराएको घटनाले रहस्यमय मोड लिएको छ। गाडी हराएको स्थान वरपरको जमिनसमेत भासिन थालेपछि अध्ययन गरिरहेका भूगर्भविद्हरूले बुधबार दिउँसो आफ्नो कार्य स्थगित गरेका छन्।
गत शुक्रबार दिउँसो करीब १ बजे ना ४ ख ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिनसहित जमिनमा भासिएर बेपत्ता भएको घटनापछि तीन दिनसम्मको असफल खोजीपछि हेटौंडा उपमहानगरपालिकाले खानी तथा भूगर्भ विभागको सहयोगमा अध्ययन टोली खटाएको थियो।
वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणि खनाल र अमरबहादुर थापा मंगलबारदेखि घटनास्थलमा अध्ययनमा जुटेका थिए। तर बुधबार दिउँसो घटनास्थलमा थप जमिन भासिँदै गएको, खाडलभित्र पानी जमेर दलदल बनेको र माटो लगातार खसिरहेको देखिएपछि टोलीले सुरक्षा जोखिमका कारण अध्ययन स्थगन गरेको हो।
“खाडलको वरपरको जमिन समेत तल झर्न थालेकोले जोखिमपूर्ण अवस्था सिर्जना भयो,” भूगर्भविद् अधिकारीले भने, “त्यहाँ ठूलो खाडल बनेको छ, पानी जमेको छ, दलदल भएको छ, त्यहाँ काम गर्न अहिले सम्भव छैन।”
टोलीले दुई दिनसम्मको अध्ययनमा गाडी भएको भनिएको स्थानमा धातुजन्य वस्तु रहेको यकिन गरे पनि त्यो सम्पूर्ण गाडी हो वा गाडीका पाटपूर्जा अथवा कुनै पुरानो धातु हो भन्नेबारे निष्कर्ष निकाल्न सकेको छैन।
अधिकारीका अनुसार टोलीले माटोको नमुना परीक्षणका लागि काठमाडौं लैजाने तयारी गरिरहेको छ। साथै, गहिराइमा पाइएका धातुजन्य संकेतका आधारमा विस्तृत प्रतिवेदन तयार पारिनेछ।