मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल सरकारले सञ्चालनमा ल्याएको ‘आमा सुरक्षा कार्यक्रम’ वीरगंजको साउथ सिटी हिमाल हस्पिटलमा लागू गरिएको छ।
वीरगंज महानगरपालिका र साउथ सिटी हिमाल हस्पिटलबीच साेमबार भएको औपचारिक सम्झौता पश्चात् सोही मितिदेखि कार्यक्रम लागू गरिएको हो।
कार्यक्रम अन्तर्गत गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, सुरक्षित सुत्केरी सेवा, नवजात शिशुको हेरचाह, तथा स्त्री रोगसम्बन्धी सम्पूर्ण परामर्श र उपचार सेवा निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ।
हस्पिटलमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रीति यादवको नेतृत्वमा निःसन्तान समस्या, महिनावारी गडबडी, स्तन तथा पाठेघरका रोग, क्यान्सर परीक्षण लगायतका सेवा समेत प्रदान गरिनेछ।
नेपाल सरकारले सन् २०७८ सालदेखि लागू गरेको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका’ अनुसार यो सेवा सरकारी तथा निजी दुवै अस्पतालमा लागू गर्न सकिने व्यवस्था गरिएको छ। विशेषगरी गरिब तथा विपन्न वर्गका महिलालाई लक्षित गरी मातृत्व सेवामा पहुँच विस्तार गर्ने उद्देश्य राखिएको हो।
पाँच वर्षअघि गरिएको संयुक्त अध्ययन अनुसार नेपालको मातृ मृत्युदर २३९ प्रति लाख जन्म थियो भने २०७८ सालको जनगणनाले उक्त दर घटेर १५१ मा झरेको देखाएको छ । यस्तै, शिशु मृत्युदर पनि ४० बाट घटेर हाल १७ प्रति हजारमा झरेको छ ।

कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न वीरगंज महानगरपालिका र संघीय तथा प्रदेश सरकारका सम्बन्धित निकायले नियमित अनुगमन गर्ने जनाइएको छ।
अस्पताल प्रशासनले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गर्दै गुणस्तरीय र मानवमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।