लामो समयदेखि व्यक्तिगत सफलता र कीर्तिमानका बाबजुद उपाधिहीन रहँदै आएका इङ्ल्याण्डका कप्तान ह्यारी केनले अन्ततः आफ्नो पहिलो ठुलो उपाधि जितेका छन्। जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर केनले बुन्डेसलिगा उपाधि जितेसँगै "उपाधि नजितेको" आलोचना चिरेका छन्।
"धेरैले मेरो करिअरभरि यही एक कुरा बोले – कि म अझै उपाधिविहीन छु," केनले केही दिनअघि भनेका थिए। “अब तिनको मुख बन्द गर्न पाउँदा खुशी लाग्छ।”
३१ वर्षीय केन गत साता पाँचौं पहेँलो कार्ड पाएपछि आरबी लाइपजिगविरुद्धको खेल गुमाए। तर आइतवार दोस्रो स्थानको बायर लेभरकुसेनले फ्रेइबर्गसँग २–२ को बराबरी गरेपछि बायर्न म्युनिखलाई उपाधि सुनिश्चित भयो।
उपाधि जितेपछि केनले इंग्ल्याण्डका सहकर्मी एरिक डाएर र अन्य टोलीसाथीहरूसँग ‘We are the Champions’ गीत गाइरहेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरे।
लामो संघर्षपछि पहिलो सफलता
हारि केनको करिअर धेरै उचाइमा पुगे पनि उनले लामो समयसम्म कुनै पनि ठुलो उपाधि जित्न सकेका थिएनन्। टोटनह्याम हट्स्परबाट आफ्नो करिअर सुरु गरेका केनले त्यहाँ ४३५ खेलमा २८० गोल गरेका थिए। तर युरोपियन च्याम्पियन्स लिग फाइनलमा लिभरपुलसँग हार, दुई पटक लिग कप उपविजेता, र प्रिमियर लिगको उपाधि नजिक पुगेर चुक्नुजस्ता असफलताले उनलाई निरन्तर पछ्याउँदै आएको थियो।
इङ्ल्याण्डका लागि पनि उनले युरो २०२० को फाइनलमा हार बेहोरेका थिए र २०१८ विश्वकपमा सेमिफाइनलमा क्रोएसियासँग पराजित भएका थिए, यद्यपि उनले दुवै प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्न सफल भएका थिए।
बायर्न म्युनिखमा नयाँ यात्रा
२०२३ को अगस्टमा केनले करिब १०० मिलियन युरोमा बायर्न म्युनिखमा स्थानान्तरण गरे। क्लबमा पहिलो सिजनमै उनले ३६ गोल गरेका छन्, जसमा २४ बुन्डेसलिगामा र ११ च्याम्पियन्स लिगमा रहेका छन्।
यद्यपि, प्रारम्भमा उनलाई ‘कर्स’ को संज्ञा दिइएको थियो, किनभने उनको आगमनसँगै बायर्न म्युनिख जर्मन कपबाट बाहिरियो, च्याम्पियन्स लिगमा हार व्यहो-ययो र लिगमा पनि केही समय नेतृत्व गुमायो।
तर बिस्तारै, केनले आफ्नो उपस्थिति प्रमाणित गरे। बायर्नका पूर्व स्ट्राइकर जर्गेन क्लिन्समान भन्छन्, "केनले आफ्नो करिअरभरि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अब उनले आफूमा विश्वास गर्नेहरूलाई खुसी तुल्याएका छन्।"
व्यक्तित्व र संस्कृतिमा घुलमिल
केनले म्युनिखको जीवनशैली सजिलै अँगालेका छन्। जर्मन भाषा सिक्ने प्रयास, ओक्टोबरफेष्टमा सहभागिता, र फ्यान क्लबको भ्रमणजस्ता गतिविधिमा उनले सक्रियता देखाएका छन्। टोलीभित्र पनि उनी निकै लोकप्रिय छन्, विशेषगरी पूर्व टोटनह्याम सहकर्मी एरिक डाएर र जर्मन स्टार थोमस मुलर सँगको मित्रताले टोलीमा समन्वय बढाएको छ।
बायर्नका मानार्थ अध्यक्ष उली होएनेस भन्छन्, "उनको परिश्रम, समर्पण र गोल क्षमताका कारण उनी उपाधिका सबैभन्दा योग्य पात्र हुन्।"
अब के?
अब बायर्न म्युनिखको ध्यान फिफा क्लब विश्वकपमा केन्द्रित हुँदैछ, जुन अमेरिका हुने बताइएको छ। यो प्रतियोगितामा जित हासिल गर्न सक्दा केनले अर्को ठुलो अन्तर्राष्ट्रिय उपाधि पनि हात पार्न सक्नेछन्।
हारि केनको सम्झौता २०२७ सम्म रहेको छ र उनी निकट भविष्यमा क्लबमा रहने प्रबल सम्भावना देखिन्छ। बायर्नले अब बायर लेभरकुसेनका स्टार फ्लोरियन वीर्ट्जलाई भित्र्याउने योजना बनाइरहेको छ, तर केनलाई केन्द्रमा राखेर योजना बनाउने संकेतहरू देखिएका छन्।
जर्मन सञ्चारकर्मी तौफिक खलिल भन्छन्, "हामी अझै कम्तिमा एक वर्ष बुन्डेसलिगामा ह्यारी केनलाई हेर्नेछौं।"