नेपालमा मिडियामाथि भइरहेको दमन र उल्लंघनका घटनामा वृद्धि देखिएको छ। मिडिया एक्सन नेपालले ‘त्रासदेखि दण्डहीनतासम्मः नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा ४ मे २०२४ देखि १ मे २०२५ सम्मका ३२ पत्रकारिता उल्लंघनका घटनाहरू समेटिएका छन्, जसले ४० जना पत्रकार र सञ्चार संस्थाहरूलाई प्रत्यक्ष असर गरेको जनाइएको छ।
प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा मिडिया एक्सन नेपालका कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख डा. सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।
प्रतिवेदनमा पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, ३ पत्रकारको गिरफ्तारी, २२ वटा धम्की र त्रासका घटना, सूचनाको अवरोध र मिडिया उपकरण नियन्त्रणजस्ता गम्भीर उल्लंघनहरूलाई विशेष रूपमा उठाइएको छ।
कार्यक्रममा बोल्दै लक्ष्मण दत्त पन्तले पत्रकारितामा रहेको बढ्दो खतराको गम्भीर चित्र प्रस्तुत गरे। साथै, कमलदेव भट्टराईले मिडिया एक्सन नेपालको निरन्तर प्रतिवद्धताको प्रशंसा गर्दै भने, “यस्ता संस्थाहरूले उल्लंघनको दस्तावेजीकरण गर्दै राष्ट्रिय बहसलाई मार्गदर्शन गर्छन्।”
कार्यक्रममा कृत्रिम बौद्धिकता (एआई) र प्रेस स्वतन्त्रतामाथिको प्रभावको विषयमा पनि अन्तर्क्रिया गरिएको थियो, जसमा सञ्चार साक्षरताको खाँचो र दुरुपयोग रोक्न नीतिगत संरचनाको आवश्यकताबारे छलफल भएको थियो।