सडक थियो, एकाएक भासियो, र केही बेरमै गाडी पोखरीजस्तै बनेको दलदली भूगर्भमा हरायो। दुई दिन बितिसक्दा पनि गाडीको अत्तोपत्तो छैन।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा शुक्रबार दिउँसो १ बजे सडक भासिएर गाडी बेपत्ता भएको छ। ना ४ ख ४८३३ नम्बरको उक्त गाडी त्यहाँ रोकेर राखिएको अवस्थामा भासिएको जमिनसँगै हराएको हो।
घटनास्थलमा रहेका गाडी चालक हरि राईले गाडी भासिन थालेपछि तत्काल बाहिर निस्कन सफल भए पनि गाडी भने केही क्षणमै दलदली माटोसहितको खाल्डोमा हराएको थियो।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रमुख जिल्ला अधिकारीको टोली घटनास्थल पुगेको थियो। प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार भासिएको ठाउँमा पानी जमेर पोखरीको रूप लिएको छ र जमिन दलदली बन्दै गएको छ।
प्रहरी, स्थानीय प्रशासन र सर्वसाधारणको सहयोगमा विभिन्न उपाय अपनाएर गाडी खोज्ने प्रयास भए पनि अहिलेसम्म गाडी भेटिएको छैन। शनिबार दिनभर मोटर प्रयोग गरी पानी निकालिएको भए पनि गाडीको कुनै अंश समेत देखिएको छैन।
डिएसपी अर्यालका अनुसार, गाडी चालक हरि राईले उक्त स्थानमा बोरिङ खनेर पोखरी बनाएका थिए र माछापालन गर्दै आएका थिए। हराएको गाडी पनि माछा बोक्नकै लागि प्रयोग हुँदै आएको थियो।
आज (आइतबार) बिहानैदेखि परेको वर्षाले खोजी कार्य थप प्रभावित भएको छ। ‘दिउँसो बैठक बसेर थप उपायबारे छलफल गर्ने योजना छ,’ डिएसपी अर्यालले जानकारी दिए।
घटनास्थल रहेको सडकखण्ड नियमित सवारीसाधनका लागि प्रयोग नहुने भित्री सडक भएको पनि प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले सुरक्षित भौगोलिक परीक्षण नगरी निर्माण गरिएका संरचनाहरूप्रति चेतावनीसमेत दिएको छ।