आपराधिक घटना क्रमको पछिल्लो तथ्याँकले मधेश प्रदेशमा अपराधको ग्राफ घट्दो क्रममा देखाएको छैन । यो प्रदेशका आठ वटै जिल्लामा दर्ता भएका आपराधिक मुद्दालाई आधार मान्ने हो भने मधेश प्रदेशमा आपराधिक घटनाको ग्राफ घट्दो क्रममा नदेखाएको हो ।
संघीयताको श्रेय लिन यो जिल्ला अरु प्रदेशभन्दा अगाडी रहेझैं मधेस प्रदेशमा त्रीबर्षीय आपराधिक घटनाको मुद्दा दर्ता २४ हजारभन्दा बढी भएको तथ्याँक सतहमा आएको छ । आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २४ हजार ४ सय ५८ वटा आपराधिक मुद्दा मधेश प्रदेशमा मात्र दर्ता भएको मधेस प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको हो । ती मुद्दामध्ये ५ हजार ८ सय ९५ वटा मुद्दा फर्स्यौट हुन बाँकी रहेको पनि जनाइएको छ ।
मधेश प्रदेशको राजधानीमा अवस्थित मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ८ हजार ४ सय ५४ मुद्दा दर्ता भएको तथ्याँकले देखाएको छ । त्यसै गरी आर्थिक वर्ष ०७९/०८० मा ९ हजार ८ सय ४४ र चालु आर्थिक वर्षको फागुनसम्ममा पनि ६ हजार १ सय ६० वटा आपराधिक मुद्दा दर्ता भएको सो कार्यालयले उपलब्ध गराएको तथ्याँकमा उल्लेख गरिएको छ । यसमध्ये पहिलो आर्थिक वर्ष ६ हजार ७ सय ९१, दोस्रोमा ८ हजार ३८ र चालु आर्थिक वर्षमा ३ हजार ७ सय ३४ वटा मुद्दा फर्स्यौट भएको पनि मधेश प्रहरी कार्यालयको तथ्याँकमा उल्लेख गरिउको छ ।
प्राप्त तथ्याँक अनुसार प्रदेशका ८ वटै जिल्लामा सबैभन्दा बढी पर्सामा आपराधिक मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्क छ । प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका गरी ८ वटै जिल्लामध्ये आर्थिक नगरीका रुपमा परिचित पर्सामा नै आपराधिक घटना दर्ता बढि भएको तथ्याँकले दर्ज गरेको छ । आव ०७८/०७९ मा प्रदेशभरिमा दर्ता भएको कुल आपराधिक घटना ८ हजार ४ सय ५४ मध्ये पर्सामा मात्र १ हजार ८ सय ३ वटा मुद्दा दर्ता भएको जनाइएको छ । यसैगरी ०७९/०८० मा दर्ता भएका ९ हजार ८ सय ४४ मुद्दामध्ये पर्सामा मात्रै २ हजार २ सय ७२ वटा मुद्दा दर्ता भएको तथ्याँमा देखिन्छ । चालु आर्थिक वर्षको फागुनसम्ममा पनि दर्ता भएका कुल मुद्दा ६ हजार १ सय ६० मध्ये पर्सामा मात्र १ हजार २ सय २४ वटा रहेको खुलेको हो ।
मधेसमा सबैभन्दा कम अपराध हुने जिल्लाको सूचीमा सप्तरी दरिएको छ । गएका तीन वर्षको आँकडा हेर्ने हो भने त्यहाँ कुल २ हजार ३ सय ६० वटा आपराधिक मुद्दा दर्ता भएको प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्याँकले देखाएको छ । फर्स्यौटमा अझै समस्या जसरी प्रहरीमा मुद्दाको दर्ता चाप बढिरहेको छ त्यसैगरी अपराधका मुद्दा फछ्यौटको तथ्याँक भने प्रत्येक वर्ष ओरालो नै लागेको छ । मुद्दा छिनोफानो नहुनुको पछाडि जनशक्ति अभाव नै मुख्य समस्या रहेको प्रहरीको दावी छ । मधेस प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जनशक्ति अभावका कारण मुद्दाहरूको अनुसन्धान र पछ्र्यौटमा समस्या रहेको दावी गरे । ‘मुद्दाको चाप बढी छ, तर हामीसँग काम चलाउने मात्रै जनशक्ति भएकोले त्यस्ता मुद्दालाई तुरुन्त किनारा लगाउन भने नसकिएको उनको भनाइ छ । जिल्लामा पर्याप्त जनशक्ति भएको भए दर्ता भएका मुद्दाको चापलाई न्यूनिकरण गर्न प्रहरी चुक्ने थिएन उनले भने । केही मुद्दाको हद म्यादका कारणले पनि छिनोफानो हुन नसकेको उनको तर्क छ । ‘कुनै मुद्दाको अनुसन्धान गर्ने हदम्याद २ वर्ष हुन्छ, मान्छे फेला नपरेसम्म ती मुद्दा न्यायालय तर्फ जान सक्दैनन् । अनि त्यस्ता मुद्दा पेन्डिङमा देखिने हुन्छ । यसमा केही प्राविधिक समस्याहरु प्नि रहेको प्रहरीले जनाएको छ ।