कृषि प्रधान देशका आलु–प्याज व्यापारी पलायन हुने अवस्थामा पुगेका छन् । सरकारी नीतिका कारण आलु प्याजमा समेत सरकारले १३ प्रतिशत भ्याट लागु गरेपछि अवैध आयातकर्ताहरुसँग प्रतिस्पर्धा गर्न नसकी आलु प्याजका वैध व्यापारी पलायन हुने अवस्थामा पुगेका हुन् ।
नेपाल चालु आर्थिक बर्षका गएको जेठ १५ गते ल्याएको बजेट नीति तथा कार्यक्रममा कर लगाउने नीति ल्याएपछि आलु प्याज अवैध बाटोबाट ल्याउने क्रम बढेको थियो । अवैध बाटोबाट ल्याइएको आलु प्याजसँग वैधबाटोबाट कर तिरेर ल्याउने व्यापारीले प्रतिस्पर्धा गर्न नसक्दा वैध व्यापारी भने पलायन हुने अवस्थामा पुगेको बताएका छन् । सरकारले चालु आर्थिक वर्षमा १३ प्रतिशत भ्याट थप गर्दा आलु प्याजको वैध व्यापार गर्ने व्यापारीलाई मार परेको उनीहरुको दावी छ ।
सरकारी करले नेपालीको भान्सा महँगिने मात्र नभई सीमा क्षेत्रमा आलु प्याजमा मौलाएको अवैध आयातले वैध व्यापारी धमाधम सटर बन्द गरी पलायन भएका छन् । वीरगन्जको घण्टाघर नजिक गोदाम संचालन गरी आलु र प्याजको कारोबार गर्ने राजकुमार गुप्ता केही महिना अगाडी सटर बन्द गर्न बाध्य भए । उनी पहिलो व्यापारी भने नभएको अर्का स्थानीय व्यवसायी मुन्ना कुमार रायले बताए । अवैध व्यापारसँग प्रतिस्पर्धा गर्न नसकी अब सटर बन्द गर्नेको संख्या ह्वात्तै बढ्ने उनले तर्क गरे । भन्सार जाँचपास गराउँदा लाग्ने अतिरिक्त कर सहित भ्याटको कारण कर छल्न अवैध कारोबार हुने गरेको व्यापारीहरुको भनाइ छ ।
खुल्ला सीमाको प्रयोग गरी अवैध कारोवार बढ्दा आलु प्याजको वैध बाटो खुम्चिएको उद्योगी व्यापारीहरुको छाता संगठन वीरगन्ज उद्योग बाणिज्य संघले पनि जनाएको छ । ‘ग्रे च्यानलबाट आउने अवैध व्यापारसँग वैध व्यापार गर्ने व्यापारी कर तिरेर प्रतिस्पर्धा गर्न सक्ने कुरा हुँदैन । अन्ततः वैध व्यापारी सरकारी नीतिकै कारण मारमा परी सटर बन्द गर्न बाध्य भएको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपालले बताए । मुलुकको सीमा क्षेत्र खुल्ला छ । खुल्ला सीमा क्षेत्र र त्यो सीमाको सुरक्षा जिम्मा लिएको सशस्त्र प्रहरी बल र अन्य नियमनकारी निकायका जिम्मेवार प्रतिनीधिहरु तस्करसँग साँठगाँठ गर्न पुग्दा खुलेआम आलु प्याज पनि अवैध बाटोमा पुगेको स्थानीयको आरोप छ । साइकल, मोटरसाईक, टेम्पो, अटो मात्र नभई ठूला सवारीमा समेत सीमाको सुरक्षार्थ खटेका व्यक्ति र निकायकै ईसारामा आलुप्याज पनि भित्रिंदा व्यापारीहरुको गुनासो छ । सरकारी कर नीतिको कारण अवैध व्यापार बढ्दा एकडेड सय गाडी भित्रिने यो समयसम्म यो बर्ष जम्मा १०÷५० गाडी मात्र आलु प्याज आयात भएको स्थानीय व्यापारी मुन्ना कुमारले बताए । यो तथ्याँकले वैध व्यापार गर्ने व्यापारी स्वतः सटरबन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको तर्क छ ।
पीडित आलु व्याज व्यापारीले मंगलबार वीरगन्ज उद्योग बाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन समेत गरी पछिल्लो अवस्था बारे मिडियाकर्मीसँग यथार्थ पनि बताए । वैध व्यापारलाई मार पर्ने गरी अवैध व्यापारमा बल पुग्ने सरकारी कर नीति शंसोधन गर्नु पर्ने पीडित व्यापारीहरुको माग छ । कृषि प्रधान देशमा चालू आर्थिक वर्षको ७ महिनामा ३२ अर्ब रुपैयाँ बराबरको फलफूल र तरकारी मात्र आयात हुनु नै दूर्भाग्य भएको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष राजपालको भनाइ छ । यो तथ्याँक नेपाल सरकारको भन्सार विभागकै हो ।
३२ अर्ब मध्ये तरकारी मात्र १९ अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको र बाँकी फलफूल भने १२ अर्ब ४० करोड बराबरको आयात भएको छ । भंसार विभागको तथ्याँकमा नै खाद्यान्न मात्र नभई तरकारी र फलफूल समेत आयात भएको कुरा दर्ज हुनु राम्रो संकेत नभएको संघको भनाइ छ । सरकारी नीतिकै कारण अवैध च्यानल अझ मजबुत हुनु र सीमाको सुरक्षार्थ खटेको सशस्त्र प्रहरी बल र राज्यका नियमनकारी निकायकै मिलिभगत हुनु झन खतरनाक भएको व्यापारीहरुको तर्क छ । नेपालीको भान्सासँग प्रत्यक्ष जोडिने आलु प्याज जस्तो तरकारीमा समेत सरकार अनुदार हुनु विडम्बना भएको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष राजपालको पनि तर्क छ । मुलुक भित्र उत्पादित आलु प्याजले बर्षको करिब ४ महिनासम्म मात्र थेग्ने अर्का आलु प्याज व्यवसायी बाबा बैजनाथ सब्जी भण्डारका संचालक राजेश गुप्ताले बताए । आलु प्याज जस्तो दैनिक उपभोग्य तरकारीमा समेत भ्याट लागी अवैध बाटो मौलाउनु राम्रो कुरा नभएको वीरगन्ज उद्योग बाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले पनि बताए । एकातिर अवैध बाटो भई भित्रिएको आलु प्याजले सरकारको राजस्वमा ह्रास आइरहेको छ भने अर्कोतिर अवैध रुपमा भित्रिएको आलु प्याजसँग वैध बाटोबाट भित्रिएको आलु प्याजले प्रतिस्पर्धा गर्न नसकी व्यापारीहरु नै विस्थापित हुने अवस्थामा पुग्नु देशको लागि राम्रो पक्ष नभएको अर्का व्यवसायी राकेस गुप्ताले बताए ।
आयातमा मात्र भर पारिएको मुलुकको चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा निर्याततर्फ ८ दशमलब ८२ प्रतिशत मात्र योगदान भएको तथ्याँकले देखाएको छ । आयात निर्यातको समग्र तथ्याँकमा ९१ दशमलब १८ प्रतिशत आयातमा कैद भइएको पुष्टि सरकारी तथ्याँकले नै गरेको छ । यो भनेको चालु आर्थिक वर्षको सात महिनामा जम्मा ९ खर्ब ८४ अर्ब ७७ करोड बराबरको वैदेशिक व्यापार भएकोमा ८ खर्ब ९७ अर्ब ९४ करोड बराबरको वस्तु आयात मात्र भएको खुलेको छ । बाँकी ८६ अर्ब ८३ करोड बराबरको वस्तु मात्र निर्यात हुँदा मुलुकको व्यापार घाटा तुलना गर्ने लायक नै नभएको नेपाल सरकारको केन्द्रीय भन्सार विभागको तथ्याँकमा उल्लेख छ । नेपाल सरकारले वैदेशिक व्यापार तर्फ अझै सुक्ष्म अध्ययन नगर्नु दुःखद् पक्ष भएको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष राजपालको भनाइ छ । अहिलेको तथ्याँक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा देशको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड नाघेको छ । सरकारले यता तर्फ गम्भिर हुनु पर्ने स्थानीय बुद्धिजिबीहरुको भनाइ छ ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना