प्रतिनिधिसभाका १६५ मध्ये ११५ सिटको नतिजा आइसक्दा कांग्रेस सबैभन्दा बढी ४० सिटमा विजयी भएको छ । दलहरुमा उ नै पहिलो पार्टी पनि हो । त्यस्तै एमालेले २९ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्र १२ सिट जित्दै तेस्रो र नेकपा एस १० सिट जित्दै चौथो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी ७ सिटमा जित हात पार्दै पाँचौँ स्थानमा रहँदा राप्रपा ५ सिटसहित छैटौं स्थानमा छ । त्यस्तै जसपा ३, लोसपा २ र नागरिक उन्मुक्ति पार्टीले २ स्थानमा जित हात पारेका छन् । त्यसको अलावा यस पटक स्वतन्त्र उम्मेदवार बन्नेहरुले पनि दुई तर्फका गठबन्धनका उमेद्वारलाई पाखा लगाउँदै सहजै चुनाव जितेका छन् । यो जितले गठबन्धन नै मात्र सही होइन भन्ने पुष्टि गरेको छ । यसरी स्वतन्त्रले चुनाव जित्ने को को छन् चर्चामा ? यस्तो छ तथ्याँक ।
रौतहट ३, प्रभु साह

मधेश प्रदेशको रौतहट जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेद्वार प्रभु साह विजयी भएका छन् । साहले निकटतम् प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । साह यस क्षेत्रबाट निरन्तर जित्दै आएका नेता पनि हुन् । उनको यो लगातार चौथो जित हो । २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आइरहेका छन् । स्वतन्त्र उमेदवार साह ३२ हजार ४ सय ३७ मतसहित विजयी भएको त्यहाँ खटेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २ सयमत प्राप्त गरेका छन् । माओवादी केन्द्रका रविन्द्र पटेलले ८ हजार ५५८ मत पाए । सत्ता गठबन्धनले सघाउने भने पनि साह विरुद्ध कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र जसपाका उम्मेदवारले मोर्चाबन्दी गरेको साह निकट कार्यकर्ताहरूको तर्क छ । नेकपा एमालेका तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए । जसपाको भागमा परेको मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभा तर्फ ८ र प्रदेशसभा तर्फ १७ गरी २५ जनालाई साहले आफ्नो टिमबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भए । तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेजमा समेत परेको थियो ।
सर्लाही–४, अमरेशकुमार सिंह
रौतहटका साह झैं सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेसका बागीमा स्वतन्त्र उठेका अमरेशकुमार सिंह पनि निर्वाचित भएका छन् । सिंहले २० हजार १७ मत ल्याउँदै विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन् । पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् । कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाएको थियो । नागेन्द्रलाई सत्ता गठबन्धनको समेत सहयोग थियो ।
मोरङ–५, योगेन्द्र मण्डल
रौतहटका साह, सर्लाहीका सिंह झैं मोरङ क्षेत्र नम्बर ५ बाट पनि प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनसहित एमाले र जसपाको पनि गठबन्धनलाई फराकिलो मतान्तरले पछि पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका छन् । मण्डलले २१ हजार ८ सय २० मत ल्याउदा सत्ता गठबन्धनवाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत ल्याए । त्यसै गरी एमाले, जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत ल्याएका छन् । योगेन्द्रलाई एमालेले उक्त क्षेत्रबाट सर्वसम्मतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने तयारी गरेको थियो । तर उम्मेदवार मनोनयनको अघिल्लो दिन एमाले र जसपाबीच चुनावी गठबन्धन हुँदा यो क्षेत्र एमालेले जसपालाई सुम्पेपछि मण्डलले एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । यो क्षेत्रमा कांग्रेस र एमालेको आ–आफनो उम्मेदवार नहुँदा आक्रोशित दुई दलका कार्यकर्ताले मण्डललाई समर्थन गर्दा उनको जित निश्चित भएको हो । सत्ता गठबन्धनमा कांग्रेसले यो क्षेत्र माओवादी केन्द्रलाई छाडेर प्रदेशसभाका दुवै क्षेत्र आफनो पक्षमा राखेको थियो । त्यसैगरी एमालेले जसपालाई छाडेर प्रदेश सभाको एक क्षेत्र आफ्नो पक्षमा राखेको थियो । मण्डल यो क्षेत्रका रैथाने पनि हुन् । तत्कालीन अमाहीवरीयाती तथा हालको धनपालथान–२ स्थायी घर भएका योगेन्द्र मुलुककै ठूलो लघुवित्त संस्थामध्येको जीवन विकास समाजका सञ्चालक समेत छन् ।
४. रौतहट–४, किरणकुमार साह
उता रौतहटको क्षेत्र नम्बर २ मा पनि स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका छन् । साहले ३२ हजार ८ सय ४२ मत ल्याई प्रतिद्वन्दीलाई पराजित गरी विजयी भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत पाए । मुस्लिम बाहुल्य क्षेत्रमा साह पहिलो पटक विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी आलम कांग्रेस नेता एवं पूर्व मन्त्री मोहम्मद आफताव आलमका जेठा छोरा हुन् । लामो समय माओवादीमा राजनीति गरेका साह मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गरेका थिए । पार्टीले टिकट नदिएको र उनको क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह प्यानलका रहेको चर्चा व्यापक छ । प्रभु साहले नै उनलाई स्वतन्त्रमा उम्मेदवारी दिन लगाएको स्थानीयले बताए । एमाले जसपा गठबन्धनका उम्मेदवार शैलेन्द्र साहले २ हजार १ सय ४२ मत पाए । एमालेका मधेश प्रदेश सदस्य समेत रहेका शैलेन्द्र जसपाबाट टिकट लिएर चुनाव लडेका हुन् । उनले अन्तिम समयमा किरणलाई समर्थन गरेका थिए । किरण २०७४ को संसदीय चुनावमा पूर्व मन्त्री आफताव आलमसित १ हजार ५ सय ५५ मतले पराजित भएका थिए । अहिले आफतावका छोरा फिरदोससित आमनेसामने भई विजयी भएका हुन् ।
५. बर्दिया–२, लालवीर चौधरी
स्वतन्त्रमा बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार बनेका लालवीर चौधरी पनि निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका नेता उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पराजित गरेका छन् । लालवीर २६ हजार ५ सय २० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पन्थले २६ हजार ३ सय ८४ मत पाएका छन् । यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा अदालतले दोषी ठह¥याएपछि कारागारमा रहेका पूर्व सांसद रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो । तर वर्तमान कानुन बमोजिम उनको उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि नागरिक उन्मुक्तिले पहिले नै लालवीरको उम्मेदवारी दर्ता गराएको थियो । लालवीर रेशमका बुबा पनि हुन् ।
–कान्तिपुरबाट सभार गरिएको