नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक देश हो, जोसँग प्रत्येक महिना कुनै न कुनै पर्व गाँसिएका हुन्छन् । दशैं, तिहार, छठ, ल्होछार, होली, ईद, बकरईद, क्रिसमसदेखि बुद्घजयन्तीसम्मका सबै पर्वहरू समाजको सांस्कृतिक गहनाहरू हन् । भर्खरै नेपालीहरूका ठूला पर्व दशैं र तिहार सकिएर छठ पर्वको तयारी चलिरहेको छ । यी उत्सवहरू केवल धर्म र परम्पराको निरन्तरतामात्र कदापि होइनन् । यसमा आर्थिक, सामाजिक सम्बन्ध र राजनीतिक रणनीतिका सरोकारहरू बलियो रूपमा मिसिएका छन् ।
पर्वहरू हाम्रा पहिचान हुन् । यस्ता पहिचानहरूलाई सचेत रूपमा परिभाषित गरिनु आवश्यक छ । पर्वको अर्थराजनीतिलाई सही तरिकाल बुझ्ने समाजले मात्र पर्वको उत्सवलाई चेतना र सामूहिक उत्तरदायित्वको रूपमा मनाउन सक्दछ । पर्व केवल खर्च र प्रदर्शनको माहोलमात्र होइन । यो समाजको आर्थिक, राजनीतिक र सामाजिक स्वरुपमा रहेको विविधता हो । यस्ता अवसरहरू अनेकतामा एकताको प्रतीकको रुपमा रहिआएका छन् ।
हरेक पर्वले बजारलाई गतिशील बनाउँछन् । पर्वमा कपडा पसलदेखि सुनचाँदीको बजारसम्म भीड लाग्छ । नयाँ लुगा, खाना, उपहार र सजावटका सामग्री किन्न रकम खर्च हुन्छ । यसले बजारलाई चलायमान बनाउँछ । पर्वमा व्यापारीहरू लाभको उपाय खोज्छन् र प्राप्तिमा रमाउँछन् । माग र आपूर्तिले बजारमा पैसाको गति तीव्र रुपमा बढ्छ । अर्थतन्त्रलाई अस्थायी गतिशीलता त दिन्छ, तर त्यसको लाभको वितरणमा व्यापक असमानता हुन्छ । लाभलाई बराबरी बाँडिदैन । ठूला व्यवसायीहरू फाईदामा रहन्छन् । ग्रामीण किसान र श्रमिक भने ऋणमा डुब्छन् । पर्वले बजारलाई गतिशील बनाए पनि त्यसको लाभमा श्रमिकको पसिना र ऋणको भार पनि हुन्छ । तर, यो वर्ग लाभको अपेक्षित अवसरबाट बञ्चित रहन्छ ।
उपभोक्तावादी समाजमा पर्वहरू बजारको रणनीतिक उपाय बनेका छन् । विज्ञापन, ब्राण्ड, अफर र डिस्काउन्टको भीड लागेको हुन्छ । यसले पर्वलाई नयाँ तरिकाले अर्थ दिएको छ । अब पर्व धर्म र संस्कृतिको उत्सवभन्दा पनि व्यापारको अवसर बढी बनेको छ । उपहारको साटासाटले सम्बन्धमात्र होइन, उपभोगको प्रतिस्पर्धा जन्माएको छ । यसले बजारलाई चलायमान बनाउन मद्दत गरेको हुन्छ । पर्वलाई बजार र प्रचारको वस्तुमा रूपान्तरण गरिएको छ ।
विगत केही वर्षयता पर्वमा बजारले अपेक्षित गति सामात्न नसकेको औसत गुनासो सुनिएको छ ।यसमा उपभोक्ताको आयस्तरको अनिश्चितता र सरकारको कर नीतिका लागि बढिरहेको अनधिकृत पैठारी मुख्य समस्या बनेका छन् । द्रुत गतिमा फेरिइरहने राजनीतिक घटनाक्रमले अर्थराजनीतिक अस्थिरता बढाएको छ, जसको प्रभाव पर्वको आर्थिक सरोकारका समेटिएको हुन्छ ।
अति आधुनिकता र सहज उपभोगको भोकले पर्वहरूको परम्परा मासिँदै गएको पनि छ । तिहारमा फूल र बत्तीको झिलीमिलीको सट्टा आयातित बत्तीको जगजगीले संस्कृतिमात्र ओझेलमा परेको छैन, यसले स्थानीय उत्पादन र बजारलाई हानी पु¥याएको छ । पर्वहरू हाम्रो सांस्कृतिक अस्तित्वका धरोहर हुन् । यसले परिवार, समुदाय र समाजबीचको सम्बन्धलाई प्रगाढ बनाउँछन् । त्यो सम्बन्ध त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ, जब त्यो समानता, समावेशिता र चेतनासँग अभिन्न रुपमा जोडिन पुग्छ ।
पर्वको राजनीतिक सरोकार हेर्दा पर्वसँग राजनीति, सत्ता र शक्तिको सम्बन्ध जोडिएको छ ।शासकले पर्वलाई आफ्नो वैधता र लोकप्रियताको माध्यम बनाएको पाइन्छ । पर्वमार्फत् सत्ता वर्गले आफ्नो छवि निर्माण गरिरहेको छ । धर्म, परम्परा र राष्ट्रियताका नाममा जनताको मन जित्ने प्रयास गरिरहेको छ । इतिहासमा शासक वर्गले धर्म र पर्वको संरक्षण गरेर जनतासँग नजिकिने काम पनि गरेका छन् । आधुनिककालमा पनि त्यो प्रवृत्ति बदलिएको छैन । आज राजनीतिक दलहरू दशैं, तिहार वा छठको बेला शुभकामना सन्देश पठाउँछन् । पर्वको बेला पारेर जनतालाई सहयोग बाँड्छन् । शासकले पर्वको अवसरमा शुभकामना दिने, टीका लगाइदिनेजस्ता काम गरेर आफ्नो लोकप्रियता बढाउन खोजेको देखिन्छ । राज्यले नेपालका केही पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएर एकता र पहिचानको प्रतीक बनाएको छ, जसको उद्देश्य पनि सांस्कृतिकभन्दा बढी राजनीतिक हो ।
पर्वको राजनीति केवल सत्ताको मात्र होइन, सामाजिक शक्ति सम्बन्धको राजनीति पनि हो । कतिपय पर्वहरूमा महिला, दलित, आदिवासी, मधेसी वा सीमान्तकृत समुदायको भूमिका सीमित पारेको हुन्छ भने केही पर्वले जातीय वा लैङ्गिक विभेदलाई निरन्तरता दिएका पनि छन् । अतः यो सामाजिक असमानताको दर्पण पनि हो ।
पर्वले उपभोग र प्रदर्शनको संस्कृतिमात्र फैलायो भने त्यो आत्माको उत्सव होइन, बजार र सत्ताको प्रदर्शनमात्र हो । पर्वको अर्थराजनीति बुझ्नु भनेको त्यसको आर्थिक, सामाजिक र राजनीतिक संरचना एवम् सरोकारका आयामहरूलाई पहिचान गर्नु हो । यसले हामीलाई सहअस्तित्व, समानता र विवेकका साथ पर्व मनाउने र रमाउने बाटो देखाउँछ । पर्वले हाम्रा संस्कार र मूल्यहरूलाई जगाउँछन् भने त्यसमा लुकेको बजारको अवसर र सत्ताको हस्तक्षेपकारी उद्देश्यलाई पनि पहिचान गर्न सक्नुपर्छ । त्यसैले पर्वको अर्थराजनीतिमा त्यसमा लुकेका शक्ति, वर्ग र पहिचानका तहहरूलाई पनि प्रश्न गर्नु पर्दछ ।