पर्साको सोलकपुरमा जन्मिएकी कविता चौधरी २०७४ को चुनावअगाडि नागरिक सचेतना कार्यक्रम गरेर महिलाहरूलाई सचेत गराउने काम गर्थिन् । समाजका कुरीतिलाई हटाउन सामाजिक संस्था जुटेकी उनी स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवार बनिन् । तर, पराजित भइन् । निर्वाचनमा हारजीत हुनुलाई स्वभाविक मान्ने उनी सामाजिक कार्यमा आफूलाई व्यस्त बनाइरहेकी छन् । जनताको प्रतिनिधि बन्न नसके पनि धेरै महिलाको लागि पे्ररणाको स्रोत भने पक्कै बन्ने अवसर पाएकी छन् । उनै सामाजिक अभियन्ता चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश ः
घरबाट बाहिर गएर काम गर्न कसरी शुरूवात गर्नुभयो ?
२०७४ को चुनावअगाडि नागरिक सचेतना केन्द्रले सञ्चालन गरेको समुदायिक विकास कार्यक्रममा २५ जना महिलाहरूलाई पढाउँथे । जनचेतनासम्बन्धी ज्ञान, समाजमा भएको करीतिहरूको बारेमा पढाउँथे । २०७४ को चुनावमा सबैको साथ सहयोगले निर्वाचनमा गए ।
राजनीतिमा जादाँ कस्तो अनुभव भयो ?
महिला गृहणी भएर हँुदैन, बाहिर पनि आउनु पर्छ । मिलेको अवसर गुमाउनु हुँदैन भनेर उम्मेदवारी दिएँ । उम्मेदवारी दिँदा म जित्छु भन्ने थियो । उम्मेदवार बन्दा हार र जीत त हुन्छ नै । जो जिते पनि समाजको सेवा गर्नु पर्छ भन्ने मेरो सोच थियो । पहिलो पटक चुनाव लड्दा जोश जाँगर धेरै थियो । मलाई बाहिर घुम्न धेरै मन लाग्छ । नयाँ ठाउँहरू मलाई राम्रो लाग्यो । चुनावको बेला घुम्दा, सबैको कुराहरू सुन्दा धेरै कुराको अनुभव हुँदो रहेछ । चुनावको समयमा मेरो साथमा घुम्ने मानिसहरू मसँग पैसा नहुँदा आफ्नो खर्च आफंै गर्थे । मैले सोचेको थिए, भोटको लागि घुम्दा कम समय लाग्छ । तर, धेरै नै समय लाग्यो । सबै घरटोल घुमेपछि आराम गर्न पाइन्थ्यो । राजनीतिमा राम्रो अनुभव भयो ।
चुनावमा घरदैलो गर्दाको अनुभव कस्तो रह्यो ?
चुनावमा घरदैलो गर्दा थहा भयो कि, भोट लिनलाई पैसा चाहिने रहेछ । मेयर, उपमेयरका अलग पैसा चाहिन्छ । यसरी उनीहरूले भागभण्डा लगाएर माग्थे । रक्सी खानलाई पनि पैसा माग्थे । आउने दिनमा मेरो यस्तो समस्या छ, तपाईंले हल गर्नुपर्छ भन्नुहुन्थ्यो । रक्सी खानलाई दिने पैसा मसँग थिएन । कोहीकोहीले मात्र यस्ता कुरा गर्दैनथे, तपाई राम्रोसँग जित्नु हुन्छ तपाईको साथमा छौं भन्थे । म पैसा नभएकै कारण हारेको हो ।
निर्वाचनमा महिलालाई कहाँ अप्ठ्यारो पर्छ ?
निर्वाचनमा महिलालाई सबैभन्दा बढी अप्ठ्यारो आर्थिक अवस्थाले हो । निर्वाचनमा जित्ने र हार्ने पनि आर्थिक कुराले नै हो । निर्वाचनको समयमा रातिमा पनि पार्टीका मानिसले बोलाउँछन् । मन नभए पनि जानु पर्छ । त्यसको विरुद्धमा पनि म गएँ । महिलाले भोट दिन्छ, तर निर्णय पुरुषको नै हुन्छ कसलाई भोट दिने भनेर । भोट माग्न जाँदा महिलाले भन्थे श्रीमानले जहाँ भन्छन्, म त्यहीँ भोट दिन्छु । विशेष गरेर हाम्रो समाजमा यस्तै छ । अहिलेसम्म पनि हामी महिलाले आफ्नो लायकको मानिस उम्मेदवार चुन्न सकिरहेका छैनौं । निर्णय गर्ने पुरुष नै हो । तर, भोट दिने बेलामा त महिला एक्लै जान्छन् । त्यहाँ पुरुष हँुदैन । त्यहाँ आफ्नो इच्छाले जो राम्रो छ त्यसलाई भोट दिनु पर्दछ । पैसाको लोभमा नपरी जो मानिसले विकास गर्छ उसैलाई भोट दिनुपर्छ । मलाई चुनावमा अप्ठ्यारो आउनुको कारण आर्थिक अवस्था र संगठन पनि राम्रो नभएर हो । हाम्रो समाजका मानिसहरू हल्लाको पछाडि लागेर पनि भोट दिदाँरहेछन् ।
पर्साको ग्रामीण भेगका महिलाहरूको अवस्था कस्तो पाउनुभयो ?
अहिले पनि मधेशको स्थिति उस्तै नै छ, महिलाको अवस्था झन् राम्रो छैन । महिला हरेक अवसरबाट पिछडिएका छन् । जहाँ सङ्घसंस्थाहरू चलिरहेको छ, त्यहाँ अलि कम छ । जहाँ पहुँच छैन, त्यहाँ धेरै समस्या छ । ग्रामिण भेगका महिलाहरूको मुख्य समस्या नै घरेलु हिंसा हो । घरेलु हिंसामा लैंगिक हिंसा पनि पर्छ । गाउँघरमा मानिसहरू एकअर्काको कुरा काट्छन् । घरेलु हिंसा हुनुमा आर्थिक पक्ष कमजोर हुनु र श्रीमान श्रीमतीको तालमेल नमिल्नु पनि कारण हो । सबैभन्दा ठूलो कुरा श्रीमान र श्रीमतीबीच विश्वास हुनु पर्छ । विश्वास भएन भने कुनै काम पर्दा तालमेल हुँदैन । पहिला श्रीमानले केही गर्दा पनि श्रीमतीहरूले केही भन्न सक्दैनथे । अहिले आएर महिलाहरू जागरुक भएका छन् । केही हुदाँ प्रश्न गर्न थालेका छन् । महिलाहरूले आफ्नो अधिकार बुझेपछि पुरुषमाथि प्रश्न गर्न थाले । यो पुरुषहरूलाई असहज लाग्न थालेको छ । महिलाले आफ्नो अधिकार खोज्दा पुरुषले मान्दैनन् ।
महिलालाई अधिकार पाउनलाई कत्तिको गाह्रो छ ?
महिलालाई आफ्नो अधिकार पाउनको लागि सबैभन्दा पहिला आफ्नै घरपरिवार र अभिभावकसँग लड्नु पर्छ । सानैदेखि महिलालाई सीमित क्षेत्रभित्र राख्ने प्रयास गरिन्छ । महिलाले आफ्नो अधिकारको लागि बोल्दा त्यसको अवाज दबाइन्छ । महिलाहरू पनि आफूलाई कमजोर ठान्छन् । जसको कारणले पुरुषवादी समाजले महिलालाई जित्न दिँदैन । धेरै महिलाहरू घरमा हिंसा सहेर बस्छन् । तर, सम्बन्धित निकायमा जाँदैनन् । त्यसको परिणाम धेरै नराम्रो निस्केर आउँछ । समाजमा महिलालाई अधिकार पाउन धेरै गाह्रो छ । महिलालाई अधिकार दिने सबै पदमा पुरुष नै बसेका छन् । महिलालाई हकअधिकारका लागि नियम कानून धेरै बनेका छन् । संविधानले हकअधिकार दिए पनि समाजले दिन सकेको छैन ।
महिलाहरूको शैक्षिक अवस्था कस्तो पाउनुभएको छ ?
पहिलाको तुलनामा अहिले महिलाहरू धेरै शिक्षित भइसकेका छन् । मैले बाटोमात्र देखाइदिन्छु । उहाँहरू आफंै सम्बन्धित निकायमा गएर आफ्नो काम गराउनुहुन्छ । पहिलाभन्दा अहिले धेरै परिवर्तन भएको छ । महिलाहरूले आफ्नो शिक्षाप्रति गम्भीर सोचाइ राख्न थालेका छन् । एउटा महिलाले आफ्नो घरबाट शिक्षा हासिल गरेको हुन्छ भने उसले जहाँ गएर पनि लड्न सक्छ । अहिले आएर छोरीलाई पनि शिक्षा दिने नियम कानून भएको छ । पहिला छोरीलाई शिक्षा दिने चलन नै थिएन । अहिले गाउँगाउँमा संघसंस्थाहरू खुलेका छन् । शिक्षाप्रति अभियान चलेको छ । सबै सुविधा विद्यालयमा दिएका छन् । त्यसले गर्दा महिलाहरूले शिक्षाको अवसर पाएका छन् । सरकारले महिलाहरूको लागि सबै सुविधा अधिकार दिएको छ ।