गृह मन्त्रालयले सरकार निर्वाचन केन्द्रित वातावरण बनाउन सक्रिय रहेको भन्दै सबै राजनीतिक दल, समूह र सरोकारवालालाई संयमित रहन अपिल गरेको छ।
मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सबैको जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार छ। वार्ताका माध्यमबाट समाधान खोज्नु नै उपयुक्त उपाय हो।”
सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र समूहहरूले धर्ना, जुलुस, प्रदर्शनजस्ता कार्यक्रम सार्वजनिक गरेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आगामी निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन आवश्यक कदम चालिरहेको र भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी शान्ति सुरक्षा सामान्य बनाइएको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अराजकता सिर्जना गर्न सक्ने भएकाले आयोजकहरूले सचेत रहनुपर्छ।”
मन्त्रालयले थप जनाएको छ कि वर्तमान सरकार, जसको गठन जेनजी आन्दोलनको बलमा भएको हो, आगामी फागुन २१ मा हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध रहेको छ। यसका लागि निर्वाचन सम्बन्धी कानुनमा संशोधन, स्रोत र साधनको व्यवस्थापन, राजनीतिक दल तथा सरोकारवालासँग वार्ता र संवाद हुँदै आएको छ।
विज्ञप्तिमा सरकारको उद्देश्य स्पष्ट पार्दै भनिएको छ, “आफ्ना माग राख्दा जनतालाई शान्तिपूर्वक बाँच्ने, सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित हुनुपर्छ। यसले राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षा खलल नपरोस्, साम्प्रदायिक सद्भाव कायम रहोस् र राष्ट्रिय हितको प्रवर्द्धन होस्।”