सानो पाइलाद्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना गरिएको छ। उपचाररत विद्यार्थीहरूलाई उपचारसँगै डिजिटल सीप र जीवनोपयोगी शिक्षा प्रदान गर्दै उनीहरूलाई सशक्त बनाउन ल्याब स्थापना गरिएको हो।
मंगलबार वीरगञ्ज–परवानीपुरस्थित केन्द्र परिसरमा आयोजित कार्यक्रममा ल्याबको औपचारिक उद्घाटन गरिएको थियो। ल्याबमा विभिन्न विधाका पुस्तकसहितको पुस्तकालय र अत्याधुनिक कम्प्युटरहरू सहितको कम्प्युटर ल्याब सञ्चालनमा आएको छ, जहाँ लागूऔषध दुरुपयोगविरुद्ध उपचाररत विद्यार्थीहरूले कम्प्युटर र डिजिटल सीप सिक्नेछन्।
केन्द्रका प्रमुख भाजू राउत कुर्मीले बताए– “उपचारका क्रममा रहेका विद्यार्थीहरूलाई पुनर्स्थापना पछि आत्मनिर्भर बनाउन आवश्यक सीप प्रदान गर्ने उद्देश्यअनुरूप ल्याब स्थापना गरिएको हो। यसले विद्यार्थीहरूलाई समयानुकूल सीप सिकाउने अवसर प्रदान गर्ने विश्वास हामीलाई छ।”
कार्यक्रममा सानो पाइलाका संस्थापक तथा युवा नेता कञ्चन झाले डन ग्रयागलाई प्रारम्भिक सहयोगका लागि धन्यवाद व्यक्त गर्दै, “डनको निरन्तर सहयोगले सानो पाइलाका प्रत्येक गतिविधिलाई सशक्त बनाएको छ। यस ल्याबले पुनर्स्थापना केन्द्रका विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ,” बताएका छन्।
वीरगञ्ज–२१ का पूर्व वडाध्यक्ष हबिब मियाँले पनि सानो पाइलाद्वारा सञ्चालन भइरहेको केन्द्रको प्रशंसा गर्दै केन्द्रको स्थायी भवन निर्माण र खेलकुद गतिविधि विस्तारका लागि आवश्यक सहयोगको प्रतिबद्धता जनाए।
उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले ल्याबमा स्थापना गरिएको पुस्तकालयले विद्यार्थीहरूमा पठन–सांस्कृतिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै संघ सानो पाइलासँग सहकार्य गर्न सधैं तयार रहने बताए।
साथै, सानो पाइलाकी संस्थापक सदस्य डा. निशा झालेले ल्याबको थप विकासका लागि एक लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरे।
कार्यक्रम संस्थापक दिपक बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका अन्य सदस्यहरू र सामाजिक अभियन्ताहरूको पनि उपस्थिति रहेको थियो।
केन्द्रले यस अवसरमा लागूऔषध दुर्व्यसनविरुद्धको परामर्शका लागि टोल–फ्रि नम्बर १६६०–५१–५२००३ सार्वजनिक गरेको छ। इच्छुक व्यक्तिहरूले यस नम्बरमार्फत निःशुल्क परामर्श सेवा प्राप्त गर्न सक्नेछन्।
केन्द्रले आफ्नो १७ वर्षको सेवा यात्रामा ४ हजार ५ सयभन्दा बढी व्यक्तिहरूलाई पुनर्स्थापना गर्न सफल भएको अवसरमा पनि उत्सव मनाएको छ।