वीरगंज । गएको आर्थिक बर्ष पर्सामा नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको छ । यो संख्या अघिल्लो बर्षको तुलनामा डब्बलले बढि हो । अघिल्लो आर्थिक बर्ष २०७७/०७८ मा यो जिल्लाबाट कुल ८ हजार ९ सय ४६ वटा नयाँ नागरिकता जारी भएका थिए ।
तर गएको आर्थिक बर्ष २०७८/०७९ मा भने यो संख्या बढेर कुल १७ हजार ८ सय ५८ वटा नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । तुलनात्मक रुपमा यो अघिल्लो बर्षभन्दा ८ हजार ९ सय १२ ले बढि हो । गएको बर्ष यति बढि नयाँ नागरिकता थपिनुमा स्थानीय निर्वाचनको कारण मतदाता नामावलीमा समेटिन चाहने मतदाताको चाहनाले हुन सक्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।
मानिसको जनघनत्व पनि बढेकै छ अर्को कारण यो पनि हुन सक्छु उनले भने । अघिल्लो आर्थिक बर्ष २०७७/०७८ मा यहाँबाट बनेका नयाँ नागरिकताभन्दा आर्थिक बर्ष २०७८/७९ मा प्रतिलिपि नै १ हजार ८ सय ६५ ले बढि भएको पनि जिल्ला प्रशासन कार्यालय पर्साको तथ्याँकमा उल्लेख गरिएको छ ।
गएको आर्थिक बर्ष प्रतिलिपि मात्र १० हजार ८ सय ११ वटा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जबकी अघिल्लो बर्ष प्रतिलिपि त जम्मा ५ हजार ४ सय ८७ मात्र प्रशासन कार्यालय पर्साबाट जारी भएका थिए । अघिल्लो आ.ब.माभन्दा गएको आर्थिक बर्ष नयाँ नागरिकताभन्दा बढि प्रतिलिपि जारी हुनुमा गएको स्थानीय चुनावको कारण भोटर आइडीमा सहभागी हुन नागरिकता खोज्दा हराएको वा फाटेको कारण बढि बनेको हुन सक्ने पनि जिल्ला प्रशासन कार्यालय पर्साले तर्क गरेको छ ।
त्यसै गरी ज्येष्ठ नागरिकलाई भत्तादिने भत्ताको उमेर हद पनि ७० बर्षबाट घटाएर ६८ गरिएपछि नागरिकता अपटुडेट राख्ने, राष्ट्रिय परिचय बनाउने लगायत कारणले पनि नागरिकताको प्रतिलिपि बनाउने पनि बढेको हुनसक्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । अघिल्लो बर्ष पर्सामा कुल ८ हजार ९ सय ४६ वटा मात्र नागरिकता जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको तथ्याँकले देखाएको छ ।
पर्सामा अघिल्लो बर्षभन्दा नागरिकता रद्ध हुने संख्याको लगत पनि निकै बढेको छ । जबकी अघिल्लो बर्ष २ वटा मात्र नागरिकता रद्ध भएको पर्सामा गएको आर्थिक बर्ष १२ वटा नागरिकता रद्ध गरिएको पाइएको छ । सुनियोजित तवरले नागरिकता बनाउने र पछि उजुर बाजुर परेपछि फस्ने डरले लगत कट्टा गर्न आफै पनि कतिपय अग्रसर हुँदा त्यो लगत बढ्न गएको जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीले तर्क गरे ।
हुन पनि नेपाली र भारतीय दुवै तर्फ सिटिजनशिप बनेको भन्दै कतिपयले यताको रद्ध गर्न आउँदा अघिल्लो बर्षभन्दा गत आर्थिक बर्ष पर्सामा नागरिकता रद्ध गर्नेको संख्या पनि बढेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले तर्क गरे । भारतमा विवाहबन्धनमा जाने र कतिपय चाही दोहोरो नागरिकताको इसु उठेपछि विवादमा आएर रद्द गर्नेहरु पहिलेभन्दा गतबर्ष बढि आएको उनको भनाइ छ ।