राजनीतिक दलको प्रचारबाजी तीब्र पारे जस्तै निर्वाचन आयोज र जिल्ला निर्वाचन कार्यालयहरुले पनि प्राविधिक रुपमा निर्वाचनको तयारीलाई तिब्रता दिइरहेका छन् । सोही क्रममा निर्वाचन कार्यालय पर्साले पनि आगामी बैशाख ३० गते हुने भनिएको निर्वाचनका लागि जिल्लामा मतदान स्थल र मतदान केन्द्र सहित मतदाताको संख्या पनि टुँगो लगाएको हो ।
यो पटकको निर्वाचनलाई अझ व्यवस्थित बनाउन पर्सा निर्वाचन कार्यालयले १ सय ६७ मतदान स्थल र ४ सय ४ मतदान केन्द्र निर्धारण गरिसकेको जिल्ला निर्वाचन कार्यालय पर्सा प्रमुख रंजिता झाले बताइन् । बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल भने साविककै संख्यामा कायम रहे पनि मतदान केन्द्रहरु भने मतदाता संख्याको आधारमा बढाइएको उनको भनाइ छ । सबै मतदान स्थल र मतदान केन्द्रहरु मतदाता संख्याको आधारमा निर्धारण गरिएको कार्यालय प्रमुख झाले बताइन् ।
निर्वाचनका लागि तयारी गरिएका मतदान स्थलहरुमा जिल्लाका १४ पालिका मध्ये जनसंख्याको आधारमा सबभन्दा बढी वीरगंज महानगरपालिकामा मात्र ५५ मतदान स्थल, १ सय ४३ मतदान केन्द्र निर्धारण गरिएका छन् । त्यसै गरी सबैभन्दा कम मतदाता रहेको धोबिनी गाउँपालिकामा ७ मतदान स्थल र १६ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । वीरगंज महानगरपालिकामा मात्र १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोले धेरै मतदानस्थल र मतदान केन्द्र पनि निर्धारण गर्न परेको निर्वाचन कार्यालय प्रमुख झाको तर्क छ । सबैभन्दा थोरै मतदाता रहेको धोबिनी गाउँपालिकामा भने कुल मतदाता १२ हजार २ सय ६७ मतदाता रहेककोले मतदाता संख्याकै आधारमा त्यहाँ पनि मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिएको उनको भनाइ छ । त्यसै गरी अन्य पालिकाहरुलाई पनि मतदाता संख्याकै आधारमा समेटिएको निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
यता पर्साको दास्रो सदरमुकामका रुपमा चिनिने पोखरिया नगरपालिकामा ११ मतदान स्थल र २४ मतदान केन्द्र निर्धारण गरिएको छ । तीन नगरपालिका रहेको पर्सामा बहुदरमाई नगरपालिकामा पनि ११ मतदान स्थल र २८ मतदान केन्द्र छन् भने पर्सागढी नगरपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको पनि निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
उता पालिकाहरु मध्ये पनि पर्साको पटेर्वा सुगौली गाउँपालिकामा ८ मतदान स्थल र १७ मतदान केन्द्र, ठोरी गाउँपालिकामा ७ मतदान स्थल र १७ मतदान केन्द्र, जिराभवानी गाउँपालिकामा ९ मतदान स्थल र १८ मतदान केन्द्र, कालिकामाई गाउँपालिकामा ६ मतदान स्थल र १५ मतदान केन्द्र, सखुवा प्रसौनी गाउँपालिकामा ७ मतदान स्थल र २१ मतदान केन्द्र, बिन्दवासिनी गाउँपालिकामा ९ मतदान स्थल र २० मतदान केन्द्र, पकहा मैनपुर गाउँपालिका ६ मतदान स्थल र १५ मतदान केन्द्र, जगरनाथपुर गाउँपालिकामा ११ मतदान स्थल र २३ मतदान केन्द्र, छिपहरमाई गाउँपालिकामा ८ मतदान स्थल र २० मतदान केन्द्र निर्धारण गरिएको छ ।
मतदाता संख्या भने पर्साको पोखरियामा १९ हजार ६ सय ६४, बहुदरमाईमा २४ हजार ३ सय १३, पर्सागढीमा २२ हजार ८ सय ७, पटेर्वा सुगौलीमा १३ हजार ९ सय २०, ठोरीमा १४ हजार ७ सय ८, जिराभवानीमा १३ हजार ९ सय २९, कालिकामाईमा १२ हजार ९ सय ७५, सखुवा प्रसौनीमा १९ हजार ७ सय ६३, बिन्दवासिनीमा १४ हजार ८ सय ४, पकहा मैनपुरमा १२ हजार ३ सय १४, जगरनाथपुरमा १८ हजार ६१ र छिपहरमाईमा १५ हजार ६ सय ६४ जना मतदाता रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याँकमा उल्लेख गरिएको छ ।
जिल्लामा कुल मतदाता संख्या भने गत निर्वाचनको समयमाभन्दा वृद्धि भई ३ लाख ३९ हजार ८ सय ३६ पुगेको पनि तथ्याँमा समेटिएको छ । अहिलेको मतदाता संख्यामा महिला मतदाता १ लाख ४८ हजार २ सय ८३, पुरुष मतदाता १ लाख ९१ हजार ५ सय ३७ र अन्य १६ जना रहेका छन् । निर्वाचनका लागि भने निर्वाचन कार्यालय पर्सामा दर्ता हुन पुगेका ३३ दल सहभाग हुने देखिन्छ । जसमा राष्ट्रियस्तरका दल ६ वटा र अन्य साना तथा क्षेत्रीय २७ गरी ३३ दल निर्वाचनमा होमिने अवस्था रहेको छ । आगामी निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री खरिद भइरहेको पर्सामा निर्वाचन अधिकृतको कार्यालय भने आगामी बैशाख ८ गते स्थापना गर्ने कार्यतालिका आयोगले उपलब्ध गराएको पर्सा निर्वाचन कार्यालयले जनाएको छ ।