चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ९३ अर्ब ५२ करोड रुपैयाँले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि भदौ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेर ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशत अर्थात् ४९ अर्ब २४ करोड रुपैयाँले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा भने २०८३ भदौ मसान्तमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.५ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको भदौ मसान्तमा यी क्षेत्रको हिस्सा क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत थियो।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.७ प्रतिशतले बढेको छ। यसैगरी विकास बैंकहरूको कर्जा ०.६ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा १.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
घरजग्गा धितोमा कर्जाको हिस्सा ६२.८ प्रतिशत
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जामध्ये घरजग्गा धितो सुरक्षणमा आधारित कर्जाको हिस्सा ६२.८ प्रतिशत रहेको छ। चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा भने १५.६ प्रतिशत छ। गत आर्थिक वर्षको भदौ मसान्तमा यी हिस्सा क्रमशः ६४.३ प्रतिशत र १५.१ प्रतिशत रहेका थिए।
क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षको दुई महिनामा खनिज क्षेत्रतर्फको कर्जा सबैभन्दा धेरै १०.४ प्रतिशतले बढेको छ। यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रको कर्जा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन र मर्मत क्षेत्रको कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै निर्माण क्षेत्रमा ३.७ प्रतिशत, सेवा उद्योगमा २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा २.१ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा १.९ प्रतिशतले कर्जा प्रवाह बढेको छ। उपभोग्य क्षेत्रतर्फको कर्जा भने ०.२ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
कुन प्रकारको कर्जा बढ्यो, कुन घट्यो?
कर्जाको प्रकारअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ट्रस्ट रिसिप्ट कर्जा ९.४ प्रतिशतले बढेको छ। विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल इस्टेट कर्जा १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ०.८ प्रतिशतले वृद्धि भएको छ।
यता क्यास क्रेडिट कर्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
समग्रमा निजी क्षेत्रमा कर्जा प्रवाह बढे पनि कृषि, वित्त तथा घरजग्गासम्बन्धी केही क्षेत्रमा कर्जा घटेको तथ्यांकले देखाएको छ।