नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन फेरि सरेको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचनको तयारी पूरा नभएको भन्दै मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारेको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले निर्वाचनको तयारी नपुगेका कारण मतदानको समय दिउँसो १ बजेका लागि सारिएको जानकारी दिए ।
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक गरिएको थियो । तर वर्षा तथा केही प्राविधिक समस्याका कारण मतदान बिहान १० बजेदेखि सुरु गर्ने भनिएको थियो । त्यसपछि पुनः समय परिवर्तन गर्दै दिउँसो १ बजेका लागि मतदान सारिएको हो ।
कांग्रेस महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।
तीन स्थानमा सात मतदान केन्द्र
महाधिवेशन प्रतिनिधिको सहजताका लागि काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको हो ।
निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै, खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन् ।
सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।