नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। महाधिवेशनका सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।
निर्वाचन समितिले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेर उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको प्रक्रिया अघि बढाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण सुरु गरिएको हो।
महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ। उम्मेदवारी दिन चाहनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई तोकिएको शुल्क बुझाएपछि मनोनयन फारम प्राप्त गर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाएको छ। सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएका छन्। अब उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन पुर्याउँदै एक महिला महामन्त्री अनिवार्य गरिएको छ।
त्यस्तै, दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। कांग्रेसले प्रवक्ता पद पनि थप गरेको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने जनाएको छ।
यसअघि १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारीको संख्या १४ थियो। प्रतिनिधिको संख्या तथा समावेशी सहभागिता बढ्दै गएसँगै पार्टीको केन्द्रीय संरचना विस्तार गरिएको कांग्रेसले जनाएको छ।