सरकारले चाडपर्वलाई लक्षित गर्दै देशका ४२ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वर्तमान सरकारको पहिलो ६ महिनाको उपलब्धिको सारांश सार्वजनिक गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको जानकारी दिएको हो।
उपलब्धि सारांशको ‘आर्थिक सुधार, व्यापार तथा लगानी’ शीर्षकअन्तर्गत उद्योग, आपूर्ति तथा लगानी क्षेत्रमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको उल्लेख छ।
यस्तै, लगानी बोर्डमा एकद्वार स्वीकृति प्रणाली सञ्चालनमा ल्याइएको तथा खानी उत्खनन र खोजतलासका लागि १०६ वटा नयाँ अनुमतिपत्र जारी गरिएको सरकारको उपलब्धि विवरणमा उल्लेख छ।
सरकारले १२० स्थानीय तह र कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) सहितको करदाता सेवा सुरु गरेको जनाएको छ। विश्व बजारमा मूल्यवृद्धिका कारण पेट्रोलियम पदार्थको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार शुल्कमा ५० प्रतिशत छुट दिइएको पनि विवरणमा उल्लेख छ।
१५ पुराना ऐन खारेजीको प्रक्रिया
आर्थिक सुधार तथा वित्तीय सुशासनअन्तर्गत सरकारले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको जनाएको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसका आधारमा १५ वटा पुराना ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ।
सार्वजनिक संस्थान सुधारअन्तर्गत रुग्ण सार्वजनिक संस्थान उदयपुर सिमेन्ट, गोरखकाली रबर र हेटौंडा सिमेन्ट लगायतको ड्यु डिलिजेन्स अडिट सम्पन्न गरिएको सरकारको दाबी छ।
पूँजी बजारतर्फ २१ बुँदे पूँजी बजार सुधार कार्ययोजना २०८३ कार्यान्वयनमा ल्याइएको उल्लेख छ।
यस्तै, एटीएफ ग्रे–लिस्ट सुधार अन्तर्गत एटीएफको मूल्यांकनमा तीनवटा कार्य पूर्ण र चारवटामा आंशिक प्रगति हासिल भएको जनाइएको छ। सरकारले छिट्टै ग्रे–लिस्टबाट बाहिरिने रणनीति कार्यान्वयन भइरहेको पनि जनाएको छ।