नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने समझदारी भएको छ। विधान संशोधनमार्फत पदाधिकारी थप गर्ने प्रस्ताव महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेर निर्णय गर्ने तयारी नेताहरूले गरेका छन्।
हाल कांग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री ११ र कोषाध्यक्ष एक जना रहने व्यवस्था छ। सहमहामन्त्रीमध्ये आठ जना निर्वाचनबाट र तीन जना मनोनीत हुने व्यवस्था छ।
अब भने उपसभापतिको संख्या चार पुर्याउने समझदारी बनेको एक पदाधिकारीले बताएका छन्। उनका अनुसार चार उपसभापतिमध्ये एक जना वरिष्ठ उपसभापति हुनेछन्। साथै उपसभापतिमध्ये एक जना महिला अनिवार्य हुने र सबै उपसभापति निर्वाचनबाट निर्वाचित हुने प्रस्ताव गरिएको छ।
त्यस्तै, सहमहामन्त्रीको संख्या पनि बढाउने सहमति भएको छ। यसअघि ११ जना सहमहामन्त्री रहने व्यवस्था रहेकामा थप दुई जना बढाएर १३ जना पुर्याउने प्रस्ताव गरिएको छ।
प्रस्तावअनुसार ११ जना सहमहामन्त्री निर्वाचनबाट निर्वाचित हुनेछन् भने थप दुई जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने व्यवस्था राखिनेछ।
केही नेताहरूले महामन्त्रीको संख्या पनि बढाएर तीन पुर्याउनुपर्ने प्रस्ताव गरेका थिए। तर महामन्त्री भने हालकै दुई जना कायम गर्ने समझदारी भएको बताइएको छ।
पदाधिकारी संख्या बढाउने विषयमा नेताहरूले सभापति गगन थापालाई सुझाव दिएका थिए। केही नेताले धेरै पद मनोनीत गर्ने व्यवस्था राख्न आग्रह गरे पनि थापाले त्यसमा सहमति नजनाएको बताइएको छ। निर्वाचनबाटै पदाधिकारी चयन गर्ने प्रस्तावलाई प्राथमिकता दिइएको नेताहरूको भनाइ छ।
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। सोमबार र मंगलबार बन्द सत्र सञ्चालन हुने र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी छ। प्रस्तावित विधान संशोधन पारित भए कांग्रेसको आगामी नेतृत्व संरचनामा पदाधिकारीको संख्या पनि बढ्नेछ।