सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टले सीमा सुरक्षा, अवैध व्यापार तथा तस्करी नियन्त्रण र लागूऔषध कारोबार नियन्त्रणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
आइतबार वीरगञ्जमा आयोजित सर्वपक्षीय छलफलमा डीआईजी भट्टले सशस्त्र प्रहरी बलले सीमा सुरक्षासँगै विपद् व्यवस्थापन, सीमापार हुने अवैध व्यापार तथा तस्करी नियन्त्रण र लागूऔषध कारोबार नियन्त्रणमा काम गरिरहेको बताए। यी क्षेत्रमा प्रभावकारी परिणामका लागि सुरक्षा निकायसँगै उद्योगी–व्यवसायी, सञ्चार क्षेत्र, नागरिक समाज र राजनीतिक दललगायत सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए।
छलफलमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको समेत सहभागिता थियो। छलफलमा सहभागीहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा सुझाव दिएका थिए। उद्योगी–व्यवसायीका प्रतिनिधिहरूले सीमा क्षेत्रमा हुने अवैध व्यापार र तस्करी नियन्त्रणसँगै वैध व्यापारलाई सहज बनाउने विषयमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए। उनीहरूले सीमामा सुरक्षा जाँचका नाममा हुने अनावश्यक झन्झट कम गर्दै वैध आयात–निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहित उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले सीमा क्षेत्रको आर्थिक गतिविधि, व्यापारिक सुरक्षा र तस्करी नियन्त्रणबीच सन्तुलन कायम गर्नुपर्ने विषय उठाएका थिए। नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी, पूर्व केन्द्रीय सदस्य सुबोध गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल पटवारी र वरिष्ठ उपाध्यक्ष माधव राजपालले पनि उद्योग–व्यवसाय क्षेत्रका समस्यालाई सुरक्षा व्यवस्थासँग जोडेर सुझाव दिएका थिए।
नेपाल–भारत उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अभिशेक चौधरीले नेपाल–भारत सीमापार व्यापारसँग सम्बन्धित विषयमा सहजीकरण, सुरक्षा र वैध व्यापार प्रवर्द्धनका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको धारणा राखेका थिए।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सीमा सुरक्षा तथा सामाजिक सरोकारका विषयमा सञ्चार क्षेत्रले निर्वाह गर्न सक्ने भूमिकासहित सम्बन्धित विषयमा सुझाव दिएका थिए। उनले सुरक्षा निकायका गतिविधि र सीमा क्षेत्रका समस्याबारे तथ्यमा आधारित सूचना प्रवाह तथा सरोकारवालाबीच समन्वयलाई महत्व दिनुपर्ने धारणा राखेका थिए।
नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेलले विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकाय, रेडक्रस तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए। विपद्का समयमा उद्धार, राहत तथा मानवीय सेवाका लागि पूर्वतयारी र संस्थागत सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको क्षेत्रगत सरोकार थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नन्दन यादवले सुरक्षा र नागरिक सरोकारसँग सम्बन्धित विषयमा सुझाव दिएका थिए। छलफलमा सहभागी अन्य प्रतिनिधिहरूले पनि सीमा क्षेत्रमा देखिएका समस्या, लागूऔषध नियन्त्रण, विपद् व्यवस्थापन तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा आआफ्ना धारणा राखेका थिए।
छलफलका क्रममा डीआईजी भट्टले प्राप्त सुझावहरूलाई सशस्त्र प्रहरीको कार्यसम्पादनमा उपयोग गर्ने र सरोकारवालासँगको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
वीरगञ्ज नेपालको प्रमुख व्यापारिक नाका भएकाले सीमा सुरक्षा, वैध व्यापार सहजीकरण, तस्करी नियन्त्रण, लागूऔषध नियन्त्रण तथा विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकाय र स्थानीय सरोकारवालाबीच नियमित संवादलाई सहभागीहरूले महत्वपूर्ण मानेका थिए।