नेपाल विद्युत् प्राधिकरणले अविरल वर्षा, बाढी–पहिरो, हावाहुरी तथा चट्याङका कारण विद्युत् प्रसारण तथा वितरण संरचनामा हुन सक्ने क्षतिलाई ध्यानमा राख्दै आवश्यक तयारी र समन्वयलाई तीव्र बनाएको छ।
प्राधिकरणले देशभरको विद्युत् आपूर्तिको अवस्था, प्रसारण तथा वितरण संरचनाको स्थिति र प्रभावित क्षेत्रबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ। सम्भावित क्षतिका कारण विद्युत् सेवा अवरुद्ध भए तत्काल पुनःस्थापना गर्न आवश्यक जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, ग्रिड सञ्चालन विभागका प्रमुख, सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख तथा दुईवटा डिभिजन कार्यालयका प्रमुखसँग जुममार्फत छलफल गरेका छन्।
छलफलमा विभिन्न प्रदेश तथा क्षेत्रमा भइरहेको वर्षा, बाढी–पहिरोका कारण विद्युत् संरचनामा परेको प्रभाव, विद्युत् आपूर्तिको वर्तमान अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिइएको थियो।
प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा सुचारु गर्न आवश्यक जनशक्ति, उपकरण र सामग्री तयारी अवस्थामा राखी परिचालन गर्न श्रेष्ठले कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
त्यस्तै, विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरमार्फत आपूर्ति सञ्चालन गर्न र क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी सुरक्षित रूपमा मर्मत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिइएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री परिचालन गर्ने व्यवस्था मिलाएको जनाएको छ।
प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर मात्र मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ।
प्राधिकरणका अनुसार विद्युत् आपूर्ति प्रणालीको अवस्था केन्द्रीय तहबाट निरन्तर अनुगमन तथा समन्वय भइरहेको छ। उपभोक्तालाई सम्भव भएसम्म नियमित विद्युत् सेवा उपलब्ध गराउन तथा अवरुद्ध सेवा छिटोभन्दा छिटो पुनःस्थापना गर्न आवश्यक सबै उपाय अपनाइएको छ।