लायन्स क्लब अफ वीरगञ्ज क्यापिटलको रणनीतिक कार्ययोजना बैठक सम्पन्न भएको छ। क्लबका अध्यक्ष लायन कविता खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी वर्ष सञ्चालन गरिने विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा क्लबका पदाधिकारी तथा सदस्यहरूको पेशागत दक्षता, अनुभव र रुचिलाई आधार बनाएर प्रभावकारी तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष खड्काले जानकारी दिइन् । समाजका विभिन्न वर्ग र समुदायको आवश्यकता पहिचान गरी सेवामूलक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरिएको छ।
क्लबले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, युवा सशक्तीकरण, भोकमरी न्यूनीकरण तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। सम्बन्धित क्षेत्रका विज्ञता र अनुभव भएका क्लब सदस्यहरूको सक्रिय सहभागितामार्फत कार्यक्रमलाई प्रभावकारी बनाउने तयारी गरिएको जनाइएको छ।
यसैबीच हालै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्ने उद्देश्यले राहत सामग्री हस्तान्तरण गर्ने निर्णयसमेत बैठकले गरेको छ। विपद्का कारण समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्लबको उद्देश्य रहेको बताइएको छ।
बैठकले आगामी कार्ययोजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्दै क्लबका सेवा गतिविधिलाई थप प्रभावकारी र समुदायमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।