नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि पोखरातर्फ जाने तथा ढुवानीका साधन सञ्चालनमा आएका हुन् ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजे पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको हो । सडक खुलेसँगै पोखराबाट नारायणगढतर्फ आउने र नारायणगढबाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन् ।
तर, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडक छेउसमेत भासिएको छ । बेनिघाट बजारनजिक गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ । कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
ज्यामिरेघाट–चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँ–ठाउँमा ढुङ्गासहितका साना पहिरो खसेका छन् ।
फिस्लिङ आसपासका तीन स्थानमा गरी करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ । करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ । चुम्लिङटारमा पनि ढुङ्गासहितको पहिरो खसेको छ ।
त्यस्तै, धारापानीका दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको इञ्जिनियर मिश्रले जानकारी दिए । सोही क्षेत्रमा कल्भर्ट खुलाउने काम भइरहेको छ ।
घोप्टेभीर र सिमलधारामा ठूला ढुङ्गा तथा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अहिले सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ । ठूलो पहिरो नखसेमा साँझसम्म सडक सञ्चालनमा ल्याउने तयारी रहेको मिश्रले बताए ।
सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरणसमेत पहिरो पन्छाउन प्रयोग भइरहेको उनले जानकारी दिए।