वीरगञ्जमा कायस्थ समुदायबीच खेलकुदको विकास, आपसी एकता, भाइचारा तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न भएको छ।
वीरगञ्जस्थित होटल वृन्दावनमा आयोजित समारोहको अध्यक्षता KPL सिजन–२ का संयोजक नितेश कुमार दासले गरेका थिए। कार्यक्रममा चित्रगुप्त समिति वीरगञ्जका अध्यक्ष महेश दास प्रमुख अतिथि तथा चित्रगुप्त युवा समितिका अध्यक्ष राजन श्रीवास्तव विशेष अतिथिका रूपमा सहभागी थिए।
समारोहमा KPL कोर कमिटीका सदस्यहरू, प्रतियोगितामा सहभागी आठवटै टोलीका कप्तान तथा उपकप्तान, सञ्चारकर्मी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।
अक्सनमार्फत कुल ८८ जना खेलाडी विभिन्न आठ टोलीमा आबद्ध भएका छन्। खेलाडी अक्सनले प्रतियोगितामा सहभागी खेलाडी, टोली व्यवस्थापन तथा समर्थकहरूमा थप उत्साह सिर्जना गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले KPL सिजन–२ ले कायस्थ समुदायका युवाहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायभित्रको एकता, भाइचारा र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
आयोजकका अनुसार KPL सिजन–२ आगामी २०८३ कार्तिक २३ र २४ गते वीरगञ्जको आदर्शनगर खेल मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा आठवटा टोलीबीच क्रिकेटमा प्रतिस्पर्धा हुनेछ।
आयोजक समितिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने अतिथि, कोर कमिटीका सदस्य, टोलीका पदाधिकारी, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ। साथै कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा योगदान पुर्याउने चन्दन श्रीवास्तव, कृष्णा श्रीवास्तव, चन्दन कुमार श्रीवास्तव, प्रेम श्रीवास्तव र मिहिर कुमार कर्णलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।