आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णयको प्रभाव पछिल्ला खेलमा देखिन थालेको छ। क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो।
अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तरको उत्कृष्ट प्रदर्शन र चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवका कारण सन्दीपलाई पुनः कप्तानको जिम्मेवारी दिइएको थियो। क्यानले कप्तानसँगै एकदिवसीय टोलीमा केही खेलाडीसमेत परिवर्तन गरेको थियो। कप्तान बनेलगत्तै सन्दीपसामु सबैभन्दा ठूलो चुनौती एसिसी एसिया कपमा छनोट हुनु थियो।
नयाँ र पुराना खेलाडी मिश्रित टोली व्यवस्थापनको चुनौतीबीच सन्दीपले कप्तान र खेलाडी दुवै भूमिकामा प्रभावशाली प्रदर्शन गरे। उनको नेतृत्वमा नेपालले एसिसी प्रिमियर कप २०२६ मा कुल ६ खेल खेल्दा ५ खेलमा जित र १ खेलमा हार व्यहोरेको थियो। समूह विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले त्यहाँ पनि सानदार प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको थियो।
फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ४४ रनले पराजित गर्दै उपाधि जित्नुका साथै दोस्रोपटक एसिया कपमा स्थान सुरक्षित गर्यो। नेपालको सफल यात्रामा कप्तान सन्दीपको भूमिका महत्वपूर्ण रह्यो। उनले प्रतियोगिताभर बलिङमार्फत विपक्षी टोलीमाथि दबाब कायम राखे।
सन्दीपले ६ खेलमा २.९८ को इकोनोमी रेटमा सर्वाधिक १७ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका उनी प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। यो एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा उनको लगातार दोस्रो ‘सर्वोत्कृष्ट खेलाडी’ अवार्ड हो। उनले सन् २०२३ को संस्करणमा पनि उक्त अवार्ड जितेका थिए।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीले एसिसी प्रिमियर कपमा नेपालको प्रदर्शन सन्दीप कप्तानका रूपमा सफल भएको प्रमाण भएको बताए।
“एसिसी प्रिमियर कपमा नेपालको नतिजा कप्तानमा सन्दीप सफल देखिएको प्रमाण हो। उनले जुन प्रकारले टोलीको नेतृत्व गरिरहनुभएको छ, त्यसले अरू खेलाडीलाई पनि मद्दत पुगिरहेको छ,” चौधरीले भने।
चौधरीका अनुसार सन्दीपले प्रतियोगितामा बलरको सही सदुपयोग गर्नुका साथै नयाँ खेलाडीको उपस्थितिबीच पनि प्रभावकारी नेतृत्व गरे। उनले बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख र अर्जुन कुमाललगायत खेलाडीको प्रदर्शनलाई पनि नेपालको सफलताको महत्वपूर्ण आधारका रूपमा उल्लेख गरे।
अब सन्दीपसामु भने आइसिसी विश्वकप लिग–२ को अन्तिम शृङ्खलामा उत्कृष्ट नतिजा निकाल्ने चुनौती छ। नेपाली टोली एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष ६ मा पर्नुपर्ने दबाबमा छ।
ताजा अवस्थामा नेपाल लिग–२ तालिकाको सातौँ स्थानमा छ। नेपालले ३२ खेलबाट ११ जित, १९ हार र २ खेलमा अङ्क बाँडेको छ। शीर्ष ६ मा रहेर एकदिवसीय मान्यता जोगाउन नेपालले अब कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ।
नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्नेछ, जहाँ उसले ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। एसिसी प्रिमियर कपको सफलताबाट प्राप्त आत्मविश्वासलाई लिग–२ मा उपयोग गर्ने चुनौती अब नेपाली टोलीसामु छ।