प्रधानमन्त्री बालेन्द्र शाहले आगामी २४ सेप्टेम्बर (८ असोज) मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले महासभाको ‘हाई लेभल जनरल डिबेट’मा सम्बोधन गर्ने जानकारी दिएका हुन्। महासभाको उच्चस्तरीय छलफल २२ देखि २८ सेप्टेम्बरसम्म अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुँदैछ।
सचिव राईका अनुसार महासभामा ८१ राष्ट्रका राष्ट्रप्रमुख र ५० राष्ट्रका सरकारप्रमुख सहभागी हुनेछन्। प्रधानमन्त्री शाहले नेपालमा भएको जेनजी आन्दोलन, त्यसपछि सम्पन्न निर्वाचन तथा नयाँ सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम रहेको छ।
यस्तै, प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जनधनको क्षति र हिमालय क्षेत्रमा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्। नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय प्रस्तुत गर्दै उनले जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान गर्ने सचिव राईले बताए।
महासभाका क्रममा नेपालले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असर र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गर्न उच्चस्तरीय साइड इभेन्टसमेत आयोजना गर्ने भएको छ।
यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले महासभाका क्रममा अति कम विकसित मुलुक, भूपरिवेष्ठित विकासोन्मुख मुलुक, असंलग्न मुलुकलगायतका विभिन्न मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। उनले राष्ट्रसंघका उच्चस्तरीय छलफल तथा साइड इभेन्टलाई सम्बोधन गर्नुका साथै छिमेकीसहित विभिन्न देशका समकक्षी र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्।