जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ। शनिबार बेलुकी पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान फेला परेसँगै मृतकको संख्या चार पुगेको हो। यसअघि पहिरोमा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, सोही वडाकी करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री रहेका छन्। यस्तै, पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिए।
प्रहरीका अनुसार पहिरोमा परी ६ जना घाइते भएका छन्। उनीहरूमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ।
भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा गम्भीर घाइते भएका छन्। उनको छाती, टाउको र हातमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि उनलाई नेपालगञ्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ।
आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। जिल्ला अस्पतालमा उपचारपछि उनलाई थप उपचारका लागि ३१ साउन बिहान ७ः१५ बजे मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन्। उनलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ।
त्यस्तै, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि पहिरोमा परी घाइते भएका छन्।
तीन जना उपचारपछि डिस्चार्ज
पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि शनिबार राति १२ बजे डिस्चार्ज गरिएको छ।
घर तथा टहरा पूर्ण रूपमा क्षतिग्रस्त
पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको दुई तले, ६ कोठे कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जनाको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन्।
सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने हाल मानिस नरहेको बताइएको छ।
२०० भन्दा बढी नागरिक सुरक्षित स्थानमा
पहिरोको जोखिममा रहेका भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०–७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित स्थानमा सारिएको छ।
त्यसैगरी झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनासहित थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
जोखिमका बीच उद्धार तथा खोजी
पहिरोका कारण विभिन्न स्थानका सडक तथा बाटो अवरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पैदलमार्फत जोखिमपूर्ण क्षेत्रमा पुगेको छ। सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम गरिरहेको छ।
३० साउन दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले घर तथा टहरा भत्काउनुका साथै केही परिवार विस्थापित भएका छन्।
अविरल वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ। सुरक्षाकर्मी तथा स्थानीय तहले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।