सत्तारुढ दलकै सांसदले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बुद्धिप्रसाद पन्तले प्रतिनिधिसभामा बोल्दै परिवर्तनको नारासहित बनेको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको संकेत गर्दै आफूले नै परिवर्तन महसुस गर्न नसकेको बताएका हुन्।
बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद पन्तले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीको मृत्यु, त्यसपछि चिकित्सकमाथि भएको हातपात र त्यसको विरोधमा देशभर चिकित्सक आन्दोलन चर्किएको घटनाको प्रसंग उठाए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे।
उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, पक्राउ परेका व्यक्ति निर्दोष ठहरिए तत्काल रिहा गर्नुपर्ने धारणा पनि राखे।
सांसद पन्तका अनुसार घटनापछि उत्पन्न अवस्थाको समाधानका लागि आफू सोमबारदेखि नै स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव र गृह सचिवसँग निरन्तर सम्पर्कमा थिए। मंगलबार स्वास्थ्यमन्त्री वीरगञ्ज जाने तयारीमा रहे पनि कार्यक्रम परिवर्तन भएपछि सचिवहरूसँग समन्वयको प्रयास गरिएको उनले बताए।
तर, सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
"कहिले गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालयतर्फ देखाउने, कहिले स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयतर्फ देखाउने अवस्था देखियो। म स्वयं जनआन्दोलनको जग र परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस गर्न सकिनँ। जनताले परिवर्तन कसरी महसुस गर्न पाउलान् र, सभामुख महोदय?" उनले भने।
सांसद पन्तले सरकारलाई नागरिकले अपेक्षा गरेको परिवर्तन व्यवहारमा देखिने गरी काम गर्न आग्रह गर्दै सुशासन, प्रभावकारी समन्वय र जवाफदेहितामा जोड दिए। साथै, नारायणी अस्पताल घटनाजस्ता संवेदनशील विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता पनि औँल्याए।