प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ।
बैठक आज बिहान ११ः३० बजे बस्ने तय भएको छ। बैठकमा सुनसरी घटनासहित मुलुकको समग्र शान्ति–सुरक्षा अवस्था, सुरक्षा चुनौती तथा आवश्यक रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ।
नेपालको संविधानको भाग २८ अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने व्यवस्था छ। परिषद्को सदस्य सचिवका रूपमा रक्षा सचिवले कार्यसम्पादन गर्छन्।
राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रणसम्बन्धी विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार, उपकरण तथा तिनका मापदण्डसम्बन्धी नीति तर्जुमा गर्ने जिम्मेवारी वहन गर्छ।
यसका साथै परिषद्ले राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षासम्बन्धी नीति निर्माण गर्नुका साथै यस्ता विषयमा नेपाल सरकारलाई आवश्यक राय, सुझाव र परामर्श प्रदान गर्ने संवैधानिक जिम्मेवारी पनि निर्वाह गर्दछ।