सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई कोशी प्रदेश सरकारले जनही २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उक्त राहत घोषणासहित घाइतेलाई जनही ५० हजार रुपैयाँ तथा आगजनीबाट घर, पसल र अन्य सम्पत्तिमा क्षति पुगेका परिवारलाई पनि ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइने जानकारी दिएका हुन्।
साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारको आयोजनामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति–सुरक्षा र साम्प्रदायिक एकता कायम गर्न आठबुँदे निर्णय समेत गरेको छ।
बैठकले राजनीतिक दल, सामाजिक संघसंस्था र प्रशासनबीच समन्वयात्मक पहल गर्दै पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सामाजिक सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
यस्तै, स्थानीय प्रशासनसँग समन्वय गरी समुदायस्तरमा सद्भाव यात्रा, सार्वजनिक अपिल तथा मेलमिलापका कार्यक्रम सञ्चालन गरिने निर्णय पनि गरिएको छ।
बैठकले सबै धार्मिक समुदायका संघ–संस्थालाई संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। साथै, सीमावर्ती क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई थप राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ।