वीरगञ्जस्थित नारायणी अस्पतालसहित देशभरका स्वास्थ्य संस्थाको सेवा प्रभावित भएको अवस्थाप्रति पर्सा जिल्लाका क्रियाशील राजनीतिक दलहरूले गम्भीर चासो व्यक्त गरेका छन्। समस्या समाधानका लागि संवाद र सहमतिमार्फत तत्काल स्वास्थ्य सेवा सञ्चालन गर्न उनीहरूले सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।
यसै सन्दर्भमा मंगलबार वीरगञ्ज महानगरपालिका–२४ स्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले ६ बुँदे संयुक्त अपिल जारी गरेको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा जनमत पार्टीका स्थानीय प्रतिनिधिहरू सहभागी थिए।
बैठकले गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
त्यसैगरी, अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. प्रमोद राम तथा अन्य स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनाको कडा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरिएको छ। घाइते स्वास्थ्यकर्मीहरूको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने पनि बैठकको निष्कर्ष छ।
सर्वदलीय बैठकले साउन ९ गते नारायणी अस्पतालमा भएको घटनाको निष्पक्ष छानबिनका लागि विज्ञको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ। साथै घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
बैठकले अस्पतालमा देखिएको विवाद समाधानका लागि आन्दोलनरत चिकित्सक, नेपाल चिकित्सक संघ, अस्पताल प्रशासन तथा स्थानीय प्रशासनबीच तत्काल संवाद र वार्ताको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको छ। संवाद र सहमतिमार्फत नै समस्या समाधान गर्न सकिने भएकाले सबै पक्षलाई संयमता अपनाउन अपिल गरिएको छ।
साथै, चिकित्सक र स्थानीय प्रशासनबीच भएको वार्ताका क्रममा प्रशासनिक पदाधिकारीबाट अलोकतान्त्रिक व्यवहार भएको भन्ने विषयप्रति पनि बैठकले ध्यानाकर्षण गराएको छ। आगामी दिनमा वार्तालाई पदीय मर्यादा, आपसी सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढाउन आग्रह गरिएको छ।
सर्वदलीय बैठकले आम नागरिकको स्वास्थ्य अधिकारलाई सर्वोच्च प्राथमिकतामा राख्दै ठप्प रहेका स्वास्थ्य संस्थाका सम्पूर्ण सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन सरकार, चिकित्सक, अस्पताल प्रशासन तथा सम्बन्धित सबै पक्षसँग संयुक्त रूपमा आग्रह गरेको छ।
उक्त संयुक्त अपिलमा नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका तुलसा पौडेल अधिकारी, नेकपा (एमाले) का डा. विश्वम्भर शर्मा, नेकपाका जयप्रकाश थारु, राप्रपाका परमेश्वरनाथ उपाध्याय, जसपा नेपालका रामनरेश यादव तथा जनमत पार्टीका मनोज साहले हस्ताक्षर गरेका छन्।
