विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले खेल मैदानबाहिर पनि नयाँ यात्रा सुरु गरेका छन्। अल–नासर तथा पोर्चुगल राष्ट्रिय टोलीका कप्तान रोनाल्डो अब टेलिभिजन ड्रामा निर्माणमा सक्रिय हुने भएका छन्।
रोनाल्डो बेलायती फुटबलको परिवेशमा आधारित नयाँ टेलिभिजन ड्रामा सिरिज ‘डे वन्स (Day 1s)’ का कार्यकारी निर्माता (एक्जिक्युटिभ प्रोड्युसर) बन्नुका साथै सिरिजमा विशेष भूमिकामा पनि देखिने भएका छन्। यस परियोजनामा आर्सनल तथा फ्रान्सका पूर्वकप्तान थिएरी हेनरी पनि सहभागी हुने भएका छन्।
यो सिरिज चर्चित निर्देशक म्याथ्यु भोनसँगको सहकार्यमा निर्माण भइरहेको हो। भोन किङ्सम्यान फिल्म शृंखलाका निर्देशकका रूपमा परिचित छन्। रोनाल्डोले यस परियोजनालाई आफ्नो जीवनको नयाँ अध्यायका रूपमा व्याख्या गर्दै नयाँ क्षेत्रमा काम गर्न पाउँदा उत्साहित रहेको बताएका छन्।
बेलायती सञ्चारमाध्यम द सन का अनुसार सिरिजले बेलायती फुटबलको यथार्थ पक्षलाई प्रस्तुत गर्ने प्रयास गर्नेछ। यसको छायांकन इङ्ग्ल्यान्डस्थित बार्नेट फुटबल क्लबको मैदानबाट सुरु भइसकेको छ।
सिरिजमा रोनाल्डोसँगै उनका पूर्व प्रिमियर लिग प्रतिद्वन्द्वी थिएरी हेनरी पनि देखिनेछन्। लामो समयदेखि प्रिमियर लिगका महान् खेलाडीमध्ये को उत्कृष्ट भन्ने बहसमा रहेका यी दुई फुटबल लिजेन्ड पहिलोपटक एउटै टेलिभिजन परियोजनामा सहकार्य गर्न लागेका हुन्।
कथावस्तु प्रभावशाली फुटबल एजेन्ट स्ट्यान्ली डाल्टनको काल्पनिक जीवनमा आधारित हुनेछ। उक्त भूमिका चर्चित अभिनेता डेमियन लुइसले निर्वाह गर्नेछन्। कथाको अवधारणा वास्तविक फुटबल एजेन्ट डारेन डिनले तयार पारेका हुन्, जो हाल हेनरीका एजेन्ट पनि हुन्।
मनोरञ्जन क्षेत्रमा रोनाल्डोको निर्माण कम्पनी यूआर–मार्भ स्टुडियोज (UR•Marv Studios) ले परम्परागत फिल्म उद्योगमा नयाँ सोच र शैली ल्याउने लक्ष्य लिएको छ। कम्पनीका सह–संस्थापक निर्देशक म्याथ्यु भोनले रोनाल्डोले मैदानमा सिर्जना गरेका प्रेरणादायी कथालाई अब चलचित्र र टेलिभिजनमार्फत दर्शकमाझ पुर्याउने उद्देश्य रहेको बताएका छन्।
भोनले भने, "क्रिस्टियानोले मैदानमा यस्ता कथा सिर्जना गरेका छन्, जुन म आफैंले पनि लेख्न सक्दिनँ। अब हामी सँगै प्रेरणादायी चलचित्र र सिरिज निर्माण गर्नेछौं।"
यस सिरिजमा बेलायती र्यापर डेभ र नयाँ कलाकार कार्लोट्टा बनाटले पनि अभिनय गर्नेछन्।
हाल साउदी प्रो लिग क्लब अल–नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डो सामाजिक सञ्जालमा एक अर्बभन्दा बढी फलोअर भएका विश्वकै प्रभावशाली खेल व्यक्तित्वमध्ये एक हुन्। अभिनय र निर्माण क्षेत्रमा उनको प्रवेशलाई खेलकुद र मनोरञ्जन उद्योगबीचको नयाँ सहकार्यका रूपमा हेरिएको छ।
उद्योगका जानकारहरूका अनुसार विश्वप्रसिद्ध फुटबल व्यक्तित्वहरूको सहभागिताका कारण यो सिरिज सार्वजनिक हुनुअघि नै विभिन्न अन्तर्राष्ट्रिय स्ट्रिमिङ प्लेटफर्मबीच प्रसारण अधिकारका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।