सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बन्दै गएको छ। मंगलबार पनि प्रदर्शनकारीहरूले विभिन्न स्थानमा आगजनी, तोडफोड तथा लुटपाट गरेका छन्। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार भएको घटनाको विरोधमा उत्रिएको प्रदर्शनकारी समूहले विभिन्न स्थानमा आगजनी गरेको हो। उनीहरूले पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डमा टायर बालेर सडक अवरुद्ध गरेका छन्, जसका कारण यातायात सेवा प्रभावित भएको छ।
आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। सो घटनापछि क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।
घटनालगत्तै स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन दक्षिणी क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु जारी रहे पनि सोमबार दिनभर प्रदर्शन जारी रह्यो। मंगलबार पनि कर्फ्यु आदेश यथावत् राखिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। साथै हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु कायम रहेको छ।
प्रशासनले नागरिकलाई कर्फ्यु र निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति–सुरक्षा कायम राख्न सुरक्षा व्यवस्था थप कडा पारिएको जनाएको छ।