सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन सोमबार थप उग्र बनेको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा आगजनी, तोडफोड तथा भौतिक आक्रमण गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा गोली लागेर ९ जना सर्वसाधारणसहित सुरक्षाकर्मीसमेत गरी २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनाको विरोधमा सोमबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका समूहले देवानगञ्जका विभिन्न स्थानमा घर, पसल तथा सवारीसाधनमा आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगञ्ज–२ स्थित गाउँपालिका कार्यालय अगाडि करिब १५० जनाको समूहले स्थानीय अनबर अन्सारीको घर, हार्डवेयर पसल र घर अगाडि पार्किङ गरिएको को२त ५८५२ नम्बरको ट्र्याक्टरमा आगजनी गरेको थियो।
यस्तै, अबाफ अन्सारीको टिनले छाएको कच्ची घर, दुई वटा मोटरसाइकल तथा देवानगञ्ज–३ स्थित परालका दुई वटा टालीमा पनि आगजनी गरिएको प्रहरीले जनाएको छ।
प्रदर्शनका क्रममा देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्किने क्रममा एक समूहले उनलाई नियन्त्रणमा लिएर टाउकोमा धारिलो हतियार प्रहार गरेको थियो। गम्भीर घाइते मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरेको छ। सेनाको उपस्थितिपछि केही समय प्रदर्शनकारी तितरबितर भए पनि क्षेत्रको अवस्था अझै तनावपूर्ण रहेको जनाइएको छ।
यसैबीच, जिल्ला सदरमुकाम इनरुवा बजारमा पनि प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीले बजार परिक्रमा गर्ने क्रममा एक सर्वसाधारणमाथि कुटपिट गरेका छन् भने इनरुवा–४ मा बजार बन्द गराउँदै बजाज शोरुमका झ्यालका सिसा र होर्डिङ बोर्ड फुटाएका छन्। इनरुवा–३ स्थित अदालत रोडमा म्याजिक गाडी र प्रहरी बिटमा समेत तोडफोड गरिएको छ। प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध गरेका छन्।
सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको र अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको जानकारी दिए। उनका अनुसार कप्तानगञ्जमा अवस्था क्रमशः सामान्य बन्दै गए पनि इनरुवा र राजमार्ग आसपासका क्षेत्रमा प्रदर्शन जारी छ।
आइतबारको घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। तर कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि सुरक्षाकर्मीको उपस्थिति थप बाक्लो बनाइएको छ।
सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लाको शान्ति–सुरक्षा कायम राख्दै सामाजिक सद्भाव संरक्षणका लागि सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ।