गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता आफैं जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर जरिबाना बुझाएको प्रहरीले जनाएको छ।
केही दिनअघि सार्वजनिक भएको भिडियोमा गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको देखिएका थिए। उक्त दृश्य सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय बनेपछि सार्वजनिक पदमा रहेका व्यक्तिले पनि ट्राफिक नियम उल्लंघन गरे कानुनअनुसार कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको थियो।
त्यसपछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा गुप्तालाई ५ सय रुपैयाँ जरिबाना गरेको हो।
घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले कानुन सबैका लागि समान भएको सन्देश दिएको भन्दै कारबाहीको स्वागत गरेका छन् भने केहीले ५ सय रुपैयाँको जरिबाना पर्याप्त नभएको टिप्पणी गरेका छन्।
आलोचना बढेपछि सांसद गुप्ताले फेसबुकमार्फत क्षमायाचना गर्दै बाल्यकालका सम्झनामा रमाउँदा मजाककै क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको र त्यस क्रममा ट्राफिक नियम उल्लंघन भएको आफूले महसुस गरेको बताएका छन्।
उनले भविष्यमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै आफूबाट जानी वा नजानी भएको गल्तीका लागि सबैसँग क्षमा मागेका छन्।
यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएको आरोपमा सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको थियो। त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गरिएको थियो।