सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर हुनेमा तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश सरकारका उपसचिव उद्धवराज न्यौपाने तथा निर्माण कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेल रहेका छन्।
अख्तियारका अनुसार बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा ३९ करोड ३९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको ठहर गर्दै आरोपितविरुद्ध फरक–फरक बिगो र जरिवाना मागदाबी गरिएको छ।
आयोगले पूर्वअर्थमन्त्री साह र तत्कालीन सचिव ठाकुरसँग ३५ करोड रुपैयाँ बिगो असुल गर्न माग गरेको छ। यस्तै, मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि निर्माण आयोजनामा ३९ करोड ३९ लाख रुपैयाँ बराबरको हानिनोक्सानी पुर्याएको आरोप लगाइएको छ।
त्यसैगरी, उपसचिव उद्धवराज न्यौपानेमाथि २० करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाइएको छ भने निर्माणको जिम्मा लिएको बिकोई धुलिखेल जेभीमाथि पनि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्याएको आरोपसहित मुद्दा दायर गरिएको छ।
अख्तियारले उक्त निर्माण आयोजनामा सार्वजनिक स्रोतको दुरुपयोग, अनियमित निर्णय तथा आर्थिक हानिनोक्सानी भएको निष्कर्ष निकाल्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।