नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज आफ्नो दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
युट्रेक्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी यस शृङ्खलामा नेदरल्यान्ड्सको भने यो पहिलो खेल हो।
नेपाल पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो। शीर्ष चारभित्र रहने सम्भावना कायम राख्न नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
पहिलो खेलमा शीर्ष क्रमका ब्याटरहरू असफल हुँदा नेपाल १५७ रनमै अलआउट भएको थियो। उक्त जितसँगै नामिबियाले पनि नेपाल बराबर २४ अंक जोडेको छ, तर रनरेटमा नेपालभन्दा पछि रहेको छ।
हाल नेपाल लिग–२ को आठौँ शृङ्खला खेलिरहेको छ। २९ खेलबाट २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ। अब बाँकी तीन खेल तथा त्यसपछि हुने अन्तिम शृङ्खला नेपालको लागि निकै महत्त्वपूर्ण रहनेछ।
लिग–२ को शीर्ष चार टोलीले एकदिवसीय (ओडीआई) विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन्। यस्तै शीर्ष छ भित्र रहन सके नेपालले आफ्नो ओडीआई मान्यता (स्टाटस) सुरक्षित राख्नेछ।
उता, नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ।
नेदरल्यान्ड्सविरुद्ध नेपालको राम्रो रेकर्ड
नेपालले पछिल्लो पटक स्कटल्यान्डमा सम्पन्न लिग–२ शृङ्खलामा नेदरल्यान्ड्सलाई दुवै खेलमा पराजित गरेको थियो। त्यसैले यसपटक पनि सोही लय कायम राख्ने लक्ष्य नेपालसँग हुनेछ।
हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच ओडीआईमा सात खेल भएका छन्। जसमा नेपालले चार खेल जितेको छ भने नेदरल्यान्ड्सले तीन खेल आफ्नो पक्षमा पारेको छ।
नेदरल्यान्ड्ससँग नेपालको विशेष सम्झना पनि जोडिएको छ। सन् २०१८ मा नेपालले आफ्नो पहिलो ओडीआई शृङ्खला नेदरल्यान्ड्समै खेलेको थियो। पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा नेपालले एक रनको रोमाञ्चक जित निकालेको थियो।
त्यसैगरी, सन् २०२४ फेब्रुअरीमा काठमाडौंमा सम्पन्न लिग–२ शृङ्खलामा दुवै टोलीले एक–एक खेल जितेका थिए। यस्तै, सन् २०२३ मा जिम्बाब्वेको हरारेमा सम्पन्न ओडीआई विश्वकप छनोट प्रतियोगितामा भने नेदरल्यान्ड्स विजयी भएको थियो।
नेपालको टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने र अर्जुन कुमाल।
नेदरल्यान्ड्सको टोली
स्कट एडवार्ड्स (कप्तान), म्याक्स ओ'डोड, सेड्रिक डे लान्ज, विक्रमजित सिंह, बास डे लिड, नोह क्रोएस, साकिव जुल्फिकर, लोगान भान बिक, रोलोफ भान डेर मर्वे, कायन क्लेइन, राएन क्लेइन, आर्यन दत्त, एलेक्स रोए, टिम प्रिन्जल र जाक लायन–क्याचेट।