आयातनिर्यात कारोबारका आधारमा मुख्य नाकाबाटै भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन । व्यापार सहजीकरणका लागि सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीजस्ता ठूला पूर्वाधार रहेको वीरगञ्ज भन्सारले गत आर्थिक वर्षमा लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व संकलन गरेको छ ।
भन्सारले गत आव २०८२/८३ मा २ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठाएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार भन्सार विभागले यो भन्सारलाई सो अवधिका लागि कुल २ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँको लक्ष्य दिएको थियो । यो लक्ष्य विभागको कुल लक्ष्यको ४६ प्रतिशत हो ।
भन्सार विभागले देशभरिका भन्सार कार्यालयहरूबाट कुल ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । वीरगञ्ज भन्सारले भन्सार महशुल, मूल्यअभिवृद्धि कर, अन्नतशुल्कलगायतका शीर्षकमा राजस्व असुल गर्दै आएको छ ।
भन्सार प्रशासक मैनालीका अनुसार गत वर्षको अन्तिम महीना असारमा लक्ष्यको ९१ दशमलव १८ प्रतिशत राजस्व संकलन भएको छ । सो एक महीनाका लागि २४ अर्ब १८ करोड रुपैयाँ राजस्व लक्ष्य निर्धारण भएकोमा २२ अर्ब ४ करोड रुपैयाँ असुल भएको भन्सारको तथ्यांकले देखाएको छ ।
वीरगञ्ज नाकाबाट मुख्य रुपमा पेट्रोलियम पदार्थ, सवारी साधन, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न आयात हुने गरेको छ । विगत केही वर्षयता यो नाकबाट सवारी साधनको आयातमा कमी आएकाले राजस्व प्रभावित भएको भन्सारका अधिकारीहरु बताउँछन् ।
यो नाकाबाट जीपकार भ्यान, मोटरसाइकल, ट्रक, बसका चेसीज, गाडीका पार्टपूर्जा, डोजर, लोडर, स्काभेटरलगायतका सवारी साधन आयात हुन्छन् । पेट्रोलियमतर्फ डिजेल, पेट्रोल, हवाई इन्धन, एलपी ग्यास आयात हुँदै आएको छ ।
औद्योगिक कच्चा पदार्थतर्फ फलाम, प्लाष्टिक दाना, मकै, धान मुख्य रहेको भन्सारले बताएको छ ।