नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनले ठूलो राजनीतिक दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको बताएका छन्।
जनकपुरधाममा आयोजित नेकपा मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण एवं एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले मधेश जनसंख्या, राजनीतिक प्रभाव र विकासका दृष्टिले अत्यन्त महत्वपूर्ण प्रदेश भएकाले पार्टी निर्माणलाई विशेष प्राथमिकतामा राखिएको बताए।
उनले मधेशमा पार्टी संगठन बलियो बनाउन सकिए आगामी दिनमा पार्टी, मधेश र समग्र मधेश आन्दोलनका लागि शक्तिशाली राजनीतिक आधार तयार हुने उल्लेख गरे। तर त्यसो गर्न नसकिए मुलुक र कम्युनिस्ट आन्दोलन दुवैले गम्भीर राजनीतिक क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
“मधेशमा पार्टी राम्रो बनाउन सकियो भने आउने दिनमा पार्टी, मधेश र समग्र मधेश आन्दोलनका लागि बलियो शक्ति निर्माण गर्न सकिन्छ,” प्रचण्डले भने, “तर मधेशमा बलियो पार्टी बनाउन सकिएन भने देशले मात्रै होइन, कम्युनिस्ट आन्दोलनले पनि ठूलो दुर्घटना खेप्नुपर्ने खतरा हामीले देखेका छौँ।”
प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा नेकपाले मधेशमा संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताउँदै जनसम्पर्क बढाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा संगठनलाई जनस्तरसम्म विस्तार गर्ने अभियान प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिए।
कार्यक्रमका क्रममा उनले हालै निर्वाचित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
उनले नेताकार्यकर्तासँग विभिन्न चरणमा अन्तरक्रिया गरी प्राप्त सुझावलाई पार्टीको आगामी कार्यदिशामा समेटेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।