श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको जनकपुरधाम आगमनअघि जानकी मन्दिर परिसरमा तनाव उत्पन्न भएको छ। साम्पाङलाई स्वागत गर्न पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेपछि केही समय स्थिति तनावग्रस्त बनेको हो।
मंगलबार जानकी मन्दिरमा दर्शन गर्न तथा पार्टीको कार्यक्रमका लागि जनकपुर आउने कार्यतालिका रहेको साम्पाङको स्वागतका लागि कार्यकर्ताहरू मन्दिर पुगेका थिए। सोही क्रममा हिन्दु सम्राट सेनाका कार्यकर्ताले उनीहरूको विरोध गर्दै मन्दिर क्षेत्रबाट हटाएका थिए।
हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईको मासु सम्बन्धी दिएको अभिव्यक्तिको विरोध गर्दै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको छ।
घटनापछि अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, "गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !"
यसअघि उनले अर्को फेसबुक स्टाटसमा "जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ !" लेख्दै जनकपुरमा आफ्नो पुरानो अभिव्यक्तिलाई लिएर विवाद सिर्जना गरिएको दाबी गरेका छन्। उनले आफ्ना समर्थक तथा पार्टी कार्यकर्तालाई संयमता अपनाउन पनि आग्रह गरेका छन्।
उता, श्रम, संस्कृति पार्टीले मंगलबार जनकपुरधाममा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रमलाई लक्षित गर्दै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
साम्पाङको आगमनलाई लिएर देखिएको विवादले जनकपुरको राजनीतिक तथा सामाजिक माहोल तातेको छ। यद्यपि, घटनाबारे स्थानीय प्रशासनले थप प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।