नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले लगातार पाँचौँ कारोबार दिन पनि वृद्धि कायम राखेको छ। अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंकले बढेको बजार सोमबार थप ४१.७० अंक (१.५५ प्रतिशत) ले उकालो लाग्दै २ हजार ७१९.५८ अंकमा पुगेको हो।
लगातार दुई कारोबार दिनमा नेप्से परिसूचक करिब १२० अंकले बढेको छ। सोमबारको बन्द अंक पछिल्लो एक महिनाकै उच्च हो। यसअघि जेठ २९ गते नेप्से २ हजार ७२४ अंकमा पुगेको थियो।
दिनभर बजार सकारात्मक रहेकामा कारोबार अवधिभरकै उच्च बिन्दुमा बजार बन्द भएको छ।
कारोबार रकम पनि बढेको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ।
आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचकतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले बढ्यो। अन्य समूह २.८१ प्रतिशत, जलविद्युत् २.७९ प्रतिशत, होटल तथा पर्यटन १.९८ प्रतिशत, लगानी १.५५ प्रतिशत, विकास बैंक १.४८ प्रतिशत, व्यापार १.१४ प्रतिशत, फाइनान्स ०.९३ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, बैंकिङ ०.५५ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत तथा माइक्रोफाइनान्स ०.३७ प्रतिशतले उकालो लागे।
हालै सूचीकृत एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढ्यो। त्यस्तै, रिजलाइन इनर्जी १३.९५ प्रतिशत, श्रीनगर एग्रिटेक १०.९५ प्रतिशत, सोलु हाइड्रोपावर ९.९३ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ८.६२ प्रतिशत, हाथवे इन्भेस्टमेन्ट ८.६१ प्रतिशत तथा शिखर पावर ७.८३ प्रतिशतले बढेका प्रमुख कम्पनी रहे।
यता, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.८६ प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ६.८५ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, एपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालय रिइन्स्योरेन्स सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।