आर्थिक अवसरको असमान वितरण र उद्योग–व्यापारका लागि अनुकूल वातावरणको अभावका कारण मधेशमा आर्थिक निराशा गहिरिँदै गएको एक सर्वेक्षणले देखाएको छ । पूरक एसियाले मधेश, लुम्बिनी र काठमाडौं उपत्यकाका ११ जिल्लामा गरेको ‘आर्थिक अवसर, रोजगारी र लगानी सर्वेक्षण–२०८२’ अनुसार स्वदेशमा रोजगारी र उद्यमका अवसर सीमित हुँदा नागरिकको आर्थिक भविष्यप्रतिको विश्वास कमजोर बनेको छ । यही कारण वैदेशिक रोजगारीप्रतिको आकर्षण पनि बढ्दो छ ।
सर्वेक्षणअनुसार मधेशमा केवल ५५ दशमलव १ प्रतिशतले आफ्नो आम्दानीले घरखर्च धानिरहेको बताएका छन् भने ५५ दशमलव ६ प्रतिशत मात्र आफ्नो पेसा वा व्यवसायप्रति सन्तुष्ट छन् । देशमा राम्रो रोजगारीको अवसर रहेको भन्नेमा ८५ दशमलव ७ प्रतिशत नागरिक असहमत छन् । मधेशमा यस्तो धारणा ८९ दशमलव २ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी भएको पूरक एसियाका नायब कार्यकारी निर्देक प्रेम सापकोटाले बताए ।
वैदेशिक पलायनको मुख्य कारण स्वदेशमा अवसरको अभाव रहेको ९२ प्रतिशत उत्तरदाताले बताएका छन् । मधेशमा यो धारणा ९६ दशमलव ५ प्रतिशत पुगेको छ । परिवारको आर्थिक भविष्यका लागि विदेश उपयुक्त विकल्प भएकोमा पनि मधेशका ७८ दशमलव ९ प्रतिशत सहमत छन् । देशभर ६२ दशमलव ३ प्रतिशत नागरिकले आफ्नो सीप र ज्ञानअनुसारको रोजगारी वा उद्यम गर्न नपाएको बताएका छन् । मधेशमा केवल १२ दशमलव ६ प्रतिशतले मात्र आफ्नो सीपअनुसारको अवसर पाएको बताएका छन्, जसले क्षेत्रीय असन्तुलन देखाउँछ ।
देशमा रोजगारी सिर्जना हुन नसक्नुको मुख्य कारण उद्यम र व्यापारका लागि अनुकूल वातावरणको अभाव रहेको ६९ दशमलव ३ प्रतिशत नागरिकको धारणा छ । मधेशमा ७३ दशमलव ५ प्रतिशतले उद्यमी बन्ने वातावरण नै नभएको बताएका छन् । सर्वेक्षणले आर्थिक अवसर सीमित समूहको नियन्त्रणमा रहेको नागरिकको बुझाइ पनि देखाएको छ । ५८ प्रतिशतले अवसर राजनीतिक नेताको प्रभावमा रहेको बताएका छन् भने आम नागरिकको पहुँचमा अवसर पुगेकोमा केवल १ दशमलव १ प्रतिशत मात्र सहमत छन् ।
नागरिकले शैक्षिक प्रमाणपत्रभन्दा व्यवहारिक सीपलाई बढी महत्त्व दिएका छन् । प्राविधिक कामदार, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता र सामाजिक सञ्जालमार्फत आम्दानी हुने क्षेत्रमा बढी सम्भावना देखिएको छ । साथै ६८ दशमलव ४ प्रतिशतले कृषिमा लगानी बढाउनुपर्ने बताएका छन् । देशभित्र रोजगारी सिर्जना गर्न ६८ प्रतिशतले ठूला उद्योग तथा कलकारखाना स्थापना आवश्यक रहेको बताएको जानकारी अध्येता तिलक पाठकले दिए ।
निराशाबीच पनि ५३ दशमलव ३ प्रतिशत उत्तरदाताले आगामी पाँच वर्षमा आफ्नो परिवारको आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गरेका छन् । तर मधेशमा यस्तो आशा राख्नेको संख्या केवल ३८ दशमलव ८ प्रतिशत छ । ४५ दशमलव ८ प्रतिशतले आर्थिक विकास र रोजगारी विस्तारका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताएका छन् । सर्वेक्षणले आर्थिक अवसरको विस्तार, उद्योगमैत्री वातावरण, समान पहुँच र राजनीतिक स्थायित्वबिना नागरिकको निराशा कम गर्न कठिन हुने निष्कर्ष निकालेको छ ।