प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात अभिवृद्धिका लागि सरकारले आवश्यक नीतिगत र संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा उनले स्वदेशी उद्योगको विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताएका हुन्।
प्रधानमन्त्री शाहले तीनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ताचप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने जानकारी दिए।
उनले उद्योगको उत्पादन क्षमताअनुसार कच्चापदार्थ आयातको ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने र स्वदेशी उत्पादनको प्रयोग, प्रवर्द्धन तथा बजार विस्तारमा सरकारले विशेष ध्यान दिने बताए।
छलफलका क्रममा एफएमएएनका पदाधिकारीहरूले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायराबाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन तथा सस्तो जुत्ताचप्पलको आयात नियन्त्रण गर्न तथा आयातित जुत्ताचप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारसँग माग गरेका थिए।
उनीहरूले आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री वातावरण उपलब्ध भए स्वदेशी जुत्ताचप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास समेत व्यक्त गरेका छन्।
छलफलमा एफएमएएनका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, सदस्य तथा प्रतिनिधिसभा सदस्य विदुषी राणा लगायतको सहभागिता रहेको थियो।