ब्राजिलका महान् फुटबलर पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको ऐतिहासिक जर्सी अमेरिकाको न्यूयोर्कमा आयोजित सथेबीजको लिलामीमा ४.९ मिलियन अमेरिकी डलर (करिब ३.६ मिलियन पाउन्ड) मा बिक्री भएको छ।
यो फुटबल इतिहासमा लिलामीमार्फत बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी बनेको छ। पहिलो स्थानमा भने अर्जेन्टिनी महान् खेलाडी डिएगो म्याराडोनाले सन् १९८६ विश्वकपमा इंग्ल्यान्डविरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी रहेको छ, जुन सन् २०२२ मा ७.१ मिलियन पाउन्डमा बिक्री भएको थियो।
सथेबीजका अनुसार पेलेको उक्त जर्सीका लागि पाँचभन्दा बढी इच्छुक खरिदकर्ताबाट १० वटा बोलकबोल परेको थियो। यो जर्सी पेलेसँग सम्बन्धित लिलामीमा बिक्री भएको अहिलेसम्मकै सबैभन्दा महँगो स्मरणीय सामग्री बनेको छ।
यसअघि यही जर्सी सन् २००४ मा १ लाख ५ हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको थियो।
पेलेले १७ वर्षको उमेरमा स्विडेनविरुद्धको १९५८ विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए। उनले त्यसपछि थप दुई विश्वकप जित्दै कुल तीन विश्वकप उपाधि जित्ने एकमात्र खेलाडीको कीर्तिमान कायम गरेका छन्। साथै, उनी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन्।
सथेबीजका खेल रणनीति तथा विकास प्रमुख ब्रेन्डन हक्सले पेलेको जर्सीको बिक्रीले विश्व फुटबलमा उनको अमिट योगदान र विरासतलाई पुनः पुष्टि गरेको बताए। उनका अनुसार यो जर्सी केवल ऐतिहासिक सम्झना मात्र नभई पेलेलाई विश्वव्यापी खेलकुद आइकन बनाएको अविस्मरणीय क्षणको प्रतीक पनि हो।
बिहीबार सम्पन्न ‘द ब्यूटिफुल गेम’ शीर्षकको सोही लिलामीमा म्याराडोनाले १९८६ विश्वकपमा कप्तानी गर्दा प्रयोग गरेको आर्मब्यान्ड ५ लाख १२ हजार अमेरिकी डलरमा बिक्री भयो।
त्यसैगरी, लियोनेल मेस्सीले सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन (पीएसजी) विरुद्ध ६–१ को ऐतिहासिक पुनरागमन जितका क्रममा लगाएको जर्सी २ लाख १७ हजार ६ सय अमेरिकी डलरमा बिक्री भयो। डेभिड बेकह्यामले सन् २००२ विश्वकपमा इंग्ल्यान्डका लागि आफ्नो ५०औँ अन्तर्राष्ट्रिय खेलमा लगाएको जर्सी भने ५१ हजार २ सय अमेरिकी डलरमा बिक्री भएको छ।