नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार लगातार दोस्रो कारोबार दिन पनि उकालो लागेको छ। अघिल्लो दिन ६.११ अंकले बढेको बजार आज थप १४ अंकले उक्लिँदै २,५९० अंकमा पुगेको हो। दिनभर बजार हरियालीमै रहे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झन्डै आधाले घटेको छ।
आज कुल ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिन ८ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो। कारोबार रकम घट्नुको मुख्य कारण अघिल्लो दिन ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको ऋणपत्र कारोबार हुनु र आज त्यो घटेर १ अर्ब ३२ करोड रुपैयाँमा सीमित हुनु रहेको छ।
बजारमा आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ६४ कम्पनीको घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकमध्ये विकास बैंक समूह सबैभन्दा धेरै १.३७ प्रतिशतले बढेको छ। यस्तै बैंकिङ ०.७४, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.४७, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा १.०३, अन्य ०.३७ तथा व्यापार समूह ०.६० प्रतिशतले उकालो लागेका छन्। लगानी समूह भने ०.४६ प्रतिशतले घटेको छ।
व्यक्तिगत कम्पनीतर्फ नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.४० प्रतिशतले बढेको छ। थ्रीस्टार हाइड्रोपावरको ६.२१ प्रतिशत, सागर डिस्टिलरीको ६.०३ प्रतिशत तथा भुजुङ हाइड्रोपावरको ४.७२ प्रतिशतले मूल्य वृद्धि भएको छ। यता उपकार लघुवित्तको सेयर मूल्य ७.३२ प्रतिशतले घट्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ३.०६ प्रतिशत र आत्मनिर्भर लघुवित्तको ३ प्रतिशतले गिरावट आएको छ।
कारोबार रकमका आधारमा आज सिद्धार्थ बैंक, आँखुखोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स र एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेका छन्।