प्रधानमन्त्री बालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई सुदृढ बनाउन आवश्यक योजना तयार गरी कार्यान्वयन गर्न पनि निर्देशन दिए।
प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने सुनिश्चित गर्न संघ, प्रदेश सरकार र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
उनले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको विस्तार तथा सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे।
प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न पनि निर्देशन दिए।
स्वास्थ्य संस्थाहरूले विकास गरेका सफल अभ्यास र नवप्रयोगलाई अन्य संस्थाले पनि अपनाउनुपर्नेमा जोड दिँदै उनले प्रतिष्ठानहरूको नाममा रहेको जग्गा अतिक्रमणको समस्या सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम समाधान गरिने बताए।
छलफलका क्रममा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा विस्तार, अस्पतालको सरसफाइ, विशेषज्ञ स्वास्थ्य सेवा, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन तथा पूर्वाधार विकासका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
उनीहरूले स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा प्रतिष्ठानहरूको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए।