फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुने भएका छन्। क्वार्टरफाइनलमा दुवै टोलीले कठिन प्रतिस्पर्धापछि जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
इंग्ल्यान्डले अमेरिकाको मियामीमा सम्पन्न रोमाञ्चक क्वार्टरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो। निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
इंग्ल्यान्डका लागि जुड बेलिङ्घमले ४७औँ र ९३औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई जित दिलाए। कप्तान ह्यारी केनले पनि एक गोल थपे। नर्वेले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। खेलमा नर्वेको एक गोल अफसाइडका कारण रद्द भएको थियो भने एक प्रहार क्रसबारमा लागेको थियो।
जितपछि पनि इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुखेल आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट देखिएनन्।
उनले भने, "हामी भाग्यमानी भयौं। नतिजा उत्कृष्ट भए पनि प्रदर्शनले खुसी बनाउन सकेन। धेरै प्राविधिक गल्ती गर्यौं, खेलको गति पर्याप्त थिएन। हाम्रो मानसिकता बलियो भएकै कारण जित सम्भव भयो।"
यद्यपि दुई गोलकर्ता बेलिङ्घमले प्रशिक्षकको टिप्पणीलाई सामान्य रूपमा लिँदै टोलीले कठिन परिस्थितिमा उत्कृष्ट संघर्ष गरेको बताए।
उनले भने, "त्यस्ता मौसम र बलिया खेलाडीविरुद्ध खेल्नु सजिलो हुँदैन। कहिलेकाहीँ राम्रो फुटबलभन्दा संघर्ष गरेर जित्नुपर्छ, आज हामीले त्यही गर्यौं।"
पूर्वकप्तान एलन शियरर र वेन रुनीले पनि टुखेलको स्पष्ट अभिव्यक्तिको प्रशंसा गर्दै इंग्ल्यान्डले खेलभन्दा बढी आफ्नो मानसिक दृढताका कारण जित निकालेको प्रतिक्रिया दिएका छन्।
अतिरिक्त समयमा अर्जेन्टिनाको जित
यता, क्यान्सस सिटीमा सम्पन्न अर्को क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप उपाधितर्फको यात्रा कायम राख्यो।
अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै एलेक्सिस म्याक एलिस्टरको गोलबाट अग्रता लिएको थियो। तर ६७औँ मिनेटमा स्विट्जरल्यान्डका डान एनडोएले बराबरी गोल फर्काए।
खेलको निर्णायक मोड ७२औँ मिनेटमा आयो, जब स्विट्जरल्यान्डका फरवार्ड ब्रेल एम्बोलोलाई दोस्रो पहेंलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइयो। भिडियो सहायक रेफ्री (VAR) को समीक्षा पछि उनले डाइभ गरेको ठहर गर्दै रेफ्रीले रातो कार्ड दिएका थिए।
१० खेलाडीमा सीमित स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाले अतिरिक्त समयमा दबाब बढायो। १०४औँ मिनेटमा जुलियन आल्भारेजले करिब २५ यार्ड टाढाबाट उत्कृष्ट घुमाउरो प्रहार गर्दै निर्णायक गोल गरे। त्यसपछि काउन्टर आक्रमणमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।
मेस्सीले बनाए अर्को विश्वकप कीर्तिमान
यस खेलमा गोल गर्न नसके पनि कप्तान लियोनेल मेस्सीले अर्को ऐतिहासिक उपलब्धि हासिल गरे। म्याक एलिस्टरको गोलमा असिस्ट गर्दै उनले विश्वकप इतिहासमा १० असिस्ट गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाए।
यससँगै अर्जेन्टिनाले लगातार १५ विश्वकप खेलमा गोल गर्ने तथा लगातार ११ विश्वकप खेलमा कम्तीमा दुई गोल गर्ने नयाँ कीर्तिमान पनि बनाएको छ।
सेमिफाइनलमा इंग्ल्यान्ड–अर्जेन्टिना भिडन्त
अब दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना जुलाई १५ मा अमेरिकाको एटलान्टामा भिड्नेछन्। यस खेलको विजेताले फाइनलमा फ्रान्स वा स्पेन मध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।