मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असार सुरु भएयता बजेट खर्चमा उल्लेख्य वृद्धि गरेको छ। जेष्ठ मसान्तसम्म कुल २१।२४ प्रतिशत बजेट खर्च भएकोमा असार १८ गतेसम्म यो बढेर २८.३० प्रतिशत पुगेको छ।
यस अवधिसम्म प्रदेश सरकारले १३ अर्ब २९ करोड ६६ लाख ६८ हजार १६४ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी निरेन्द्रलाल कर्णका अनुसार हालसम्म चालुतर्फ ६ अर्ब ७२ करोड ८८ लाख ३ हजार ९९९ रुपैयाँ ४३.० प्रतिशत० र पुँजीगततर्फ ६ अर्ब ५६ करोड ७८ लाख ६४ हजार १६५ रुपैयाँ २०.९६ प्रतिशत खर्च भएको छ।
यसअघि जेष्ठ मसान्तसम्म चालुतर्फ ३६.२२ प्रतिशत र पुँजीगततर्फ १३.७६ प्रतिशत खर्च भई कुल बजेट खर्च २१.२४ प्रतिशत पुगेको थियो।
कार्यालयको तथ्यांकअनुसार मन्त्रालयगत रूपमा अर्थ मन्त्रालयले सबैभन्दा बढी ५३.७१ प्रतिशत बजेट खर्च गरेको छ। सबैभन्दा कम खर्च गर्ने मन्त्रालय खेलकुद तथा समाज कल्याण मन्त्रालय रहेको छ, जसले हालसम्म ९.९३ प्रतिशत मात्र बजेट खर्च गरेको छ।
अन्य मन्त्रालयहरूको बजेट खर्चको अवस्था यस्तो छः वन तथा वातावरण मन्त्रालय ४६.३८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालय ३८.९७ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ३६.२९ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३१.२१ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालय २८.७९ प्रतिशत, गृह, सञ्चार तथा कानुन मन्त्रालय २८.५६ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय २८.३६ प्रतिशत, शिक्षा तथा संस्कृति मन्त्रालय २६.४७ प्रतिशत, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय १९.६० प्रतिशत तथा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले ११.०२ प्रतिशत बजेट खर्च गरेका छन्।
सूचना अधिकारी कर्णका अनुसार प्रदेश सरकारका विभिन्न योजनाहरूको भुक्तानी असार २५ गतेसम्म हुने भएकाले आगामी दिनमा बजेट खर्चको प्रतिशत अझ बढ्ने अपेक्षा गरिएको छ।