देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। बुधबार र बिहीबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय तथा सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुन थप सशक्त बनेपछि जोखिमयुक्त क्षेत्रहरूमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।
सशस्त्र प्रहरीको ५४ मनसुन प्रतिकार्य बेस
सशस्त्र प्रहरी बल (एपीएफ) ले विपद्का बेला तत्काल उद्धार टोली परिचालन गर्न सहज होस् भनी देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। एपीएफ प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार १६ वटा अति जोखिमयुक्त स्थानमा जनशक्ति र स्रोतसाधनसहित स्थायी बेसहरू तयारी अवस्थामा छन्।
विपद् सम्बन्धी सूचना संकलनका लागि सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप र १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। प्रवक्ता कार्कीले भने, “नागरिकले एपमार्फत सूचना दिनेबित्तिकै नजिकको बाहिनीमा जानकारी पुग्छ र उद्धार टोली तत्काल घटनास्थलमा खटिन्छ। हामी चौबिसै घण्टा तयारी अवस्थामा छौँ।”
‘एकीकृत बस्ती नहुँदा व्यवस्थापन चुनौतीपूर्ण’
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनमा जनशक्ति र प्रविधिको सुधार भए पनि भौगोलिक अवस्थाका कारण चुनौती कायमै रहेको बताए। उनका अनुसार छरिएर रहेका पहाडी बस्ती र तराईका खोला किनारका बस्तीमा राज्यको पहुँच अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ।
उनले स्थानीय तहलाई स्रोत–साधनयुक्त बनाउनुपर्ने, राजमार्गका ‘ब्ल्याक स्पट’ पहिचान गरी सुधार गर्नुपर्ने तथा पूर्वसूचना प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
नेपाली सेनाको तीन चरणको विशेष कार्ययोजना
नेपाली सेनाले पनि बाढी–पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न तीन चरणको पूर्वतयारी अघि बढाएको छ। प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा योजना अद्यावधिक र संयुक्त अभ्यास, दोस्रो चरणमा स्रोत–साधनसहित पूर्वतैनाथी, र तेस्रो चरणमा प्रतिकार्य तथा पृष्ठपोषणलाई प्राथमिकता दिइएको छ।
सेनाले इटहरी, सुर्खेत र काठमाडौंमा हवाई उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखेको छ। साथै धादिङ, चितवन र बारामा बेली ब्रिज स्ट्यान्डबाइ राखिएको छ।
त्यसैगरी आपत्कालीन स्वास्थ्य सेवाका लागि फिल्ड अस्पताल तथा मेडिकल किटहरू पनि तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।
सेनाले विपद्का घटनामा तत्काल जानकारी दिन स्थानीय विपद् व्यवस्थापन समिति वा जनसम्पर्क निर्देशनालयमा सम्पर्क गर्न तथा सरकारले जारी गर्ने मौसम पूर्वानुमानलाई नियमित पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।