देवेश प्रसाद (संस्थापक)
मानव सेवा आश्रम, वीरगञ्ज समाज र कानूनको भूमिका महत्वपूर्ण
लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि जनचेतना, परिवार, समाज र कानून सबैको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालय, कलेज, समुदाय तथा आमा समूहहरूमा लागूऔषधका नकारात्मक असरबारे सचेतना फैलाउनुपर्छ । अभिभावकहरूले आफ्ना बालबालिकाको संगत, गतिविधि र व्यवहारमा ध्यान दिनुपर्छ । मोबाइल र अन्य इलेक्ट्रोनिक उपकरणमा बढी समय बिताउनुभन्दा खेलकुद र सिर्जनात्मक गतिविधिमा सहभागी गराउनुपर्छ । दुव्र्यसनमा परेकाहरूलाई उचित काउन्सेलिङ र पुनस्र्थापना केन्द्रमार्फत् नयाँ जीवनको अवसर दिनुपर्छ । लागूऔषधको कारोबार र दुरुपयोगमा संलग्न व्यक्तिमाथि कडा कानूनी कारवाही र प्रभावकारी निगरानी हुनुपर्छ । यी सबै पक्षमा समन्वय र प्रतिबद्धता भएमा लागूऔषध दुव्र्यसन नियन्त्रण गर्न सकिन्छ ।
शरण गुप्ता (सामाजिक अभियन्ता)
वीरगञ्जकानूनी कारवाहीले मात्र समाधान हुँदैन
आजको समाजमा लागूऔषधको दुव्र्यसन एक गम्भीर सामाजिक, स्वास्थ्य तथा सुरक्षा चुनौतीको रूपमा देखा परेको छ । विशेषगरी युवापुस्तामा यसको बढ्दो प्रभावले परिवार, समुदाय र राष्ट्रको भविष्यप्रति चिन्ता थपेको छ । लागूऔषधको लतले व्यक्तिको स्वास्थ्यमात्र होइन, शिक्षा, रोजगारी, पारिवारिक सम्बन्ध र सामाजिक जीवनसमेत प्रभावित बनाउँछ । लागूऔषधको समस्या केवल कानूनी कारवाहीले मात्र समाधान हुँदैन । यसको नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम र सरकार सबैको संयुक्त प्रयास आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठन तथा संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालयले पनि रोकथाम, सचेतना, पारिवारिक सहयोग र उपचारलाई प्रभावकारी उपायका रूपमा जोड दिएका छन् । खेलकुद, कला, संगीत, साहित्य, स्वयंसेवा तथा सामाजिक अभियानमा युवाको सहभागिता बढाउन सके उनीहरूलाई नकारात्मक संगतबाट टाढा राख्न सकिन्छ । बेरोजगारी, निराशा र उद्देश्यहीनताले पनि लागू औषधतर्फ धकेल्ने भएकाले युवाका लागि अवसर सिर्जना गर्नु आवश्यक छ । अपराधीको रूपमा मात्र होइन, उपचार आवश्यक पर्ने व्यक्तिको रूपमा पनि हेर्नुपर्छ । परामर्श, मनोसामाजिक सहयोग, पुनस्र्थापना केन्द्र तथा पुनः समाजमा घुलमिल गराउने कार्यक्रम प्रभावकारी हुनुपर्छ । लागू औषधको कारोबार, तस्करी र वितरणमा संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारवाही आवश्यक छ । सीमावर्ती क्षेत्रहरूमा निगरानी बढाउने, सुरक्षा निकायलाई सशक्त बनाउने तथा सूचना प्रणालीलाई प्रभावकारी बनाउने कार्यले समस्या नियन्त्रणमा सहयोग पु¥याउँछ । लागूऔषधको दुव्र्यसन कुनै एक व्यक्ति वा परिवारको समस्यामात्र होइन, सम्पूर्ण समाजको चुनौती हो । समाधानका लागि सचेतना, शिक्षा, पारिवारिक सहयोग, सामुदायिक सहभागिता, उपचार र कानूनी कार्यान्वयनलाई सँगै अघि बढाउनु पर्छ । युवापुस्तालाई सही दिशा दिन सक्यौं भने समाज सुरक्षित, स्वस्थ र समृद्ध बन्न सक्छ ।
रितिका जयसवाल ( सहायक प्राध्यापक)
हरिखेतान बहुमुखी क्याम्पस, वीरगञ्जघरबाट नै अभियान शुरू गर्नु पर्दछ
लागूऔषधको दुव्र्यसन नियन्त्रण गर्न हामीले आफ्नो घरबाट नै अभियान शुरू गर्नुपर्ने हुन्छ । घरका परिवारका सदस्यहरुले मादक पदार्थहरू सेवन गरिरहेका छन् भने यसको असर बच्चालाई पर्न जान्छ । विद्यालयमा अध्ययन गर्ने ६÷७ कक्षाका बालकहरूमा पनि साथीको लहैलहैमा परेर लागूऔषधको दुव्र्यसनमा लागेको पाइन्छ । शिक्षक एउटा अभिभावक हो । शिक्षकले विद्यार्थीहरू कुन बाटोमा गइरहेको छन्, ध्यान दिएर सचेत गराउनु पर्छ । परिवारमा कुनै समस्या आउँदा पनि बच्चाहरू डिप्रेसनमा आएर लागूऔषध सेवन गर्ने गर्दछन् । घरपरिवारका व्यक्तिहरूले समस्या पत्ता लगाएर निराकरण गर्नुपर्ने हुन्छ । लागूऔषध दुव्र्यसनलाई नियन्त्रण गर्न विभिन्न संघसंस्थाहरू लागेका छन् । युवाहरूमा काउन्सिलिङ गरेर र तालिम दिएर सचेत गराउन सकिन्छ । गाली गरेर लागूऔषधको दुव्र्यसनबाट छुटाउन सकिँदैन । बालबालिकाहरुलाई मोबाइल दिएर सामाजिक सञ्जालमा नै अल्झाएर राखियो भने कुलतमा फस्न सक्छन् । बालबालिकालाई सामाजिक कार्यमा लगाउनु पर्छ । बालबालिकाहरुलाई विभिन्न संस्थामा सहभागी गराऔं । बालबालिकाहरुको उमेरअनुसारको काम दिनुपर्छ । खेलकुद, हाजिरीजवाफ प्रतियोगिता, समाजका काममा व्यस्त हुदाँ नचाहिने कामको लागि समय हुँदैन । बालबालिका र युवाहरू सामाजिक कामहरूमा व्यस्त हुदाँ कुलतबाट रोक्न सकिन्छ । कुलतमा लागेकाहरू केही हदसम्म सुध्रिए पनि समाजमा जिस्काउने प्रवृतिले गर्दा रिसले फेरि लागूऔषधको सेवन गर्ने गर्दछन् । सरकारले पनि लागू औषध दुव्र्यसनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । अझै पनि नीति नियमहरू कडाइका साथ लागू गर्ने हो भने समाजमा यस्ता कामहरू बिस्तारै रोकिन जान्छ । कुनै पनि व्यक्ति खाली बसेमा उसले गलत बाटो नै रोज्छ । हरेक व्यक्तिहरूले कुनै पनि काम, सामाजिक कार्यमा आफूलाई व्यस्त बनाइराख्नु पर्छ । आमाबुबाले बच्चाको व्यवहारको निरगानी गरेर कुलतबाट बचाउन सक्छन् ।
नरोत्तम पाण्डे (अध्यक्ष)
लायन्स क्लब अफ वीरगञ्ज परिवार
हेलाँ होइन, माया र सद्भाव दिनु पर्दछ
मेरो आफ्नै दाइ पनि लागूऔषधको कुलतमा पर्नुभएको थियो । उहाँलाई सुधार गर्न परिवारका सबै सदस्यले धेरै प्रयास ग¥यौं र विभिन्न सुधार केन्द्रहरूमा पनि राख्यौं । तर, मैले एउटा कुरा बुझेँ जबसम्म व्यक्तिको मनबाटै परिवर्तन हुने इच्छा आउँदैन, तबसम्म स्थायी परिवर्तन सम्भव हुँदैन । हामीले उहाँलाई हेलाँ गर्ने होइन, माया, विश्वास र साथ दिने काम ग¥यौं । समाजमा सम्मानका साथ बाँच्न सकिन्छ, जीवनमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगायौं । सकारात्मक सोच, परिवारको साथ र अवसर पाएपछि उहाँको जीवनमा ठूलो परिवर्तन आयो । आज देशैभरि कैयौं प्रतिष्ठित व्यक्तिहरूले उहाँको सम्मानसहित नाम लिन्छन् । उहाँ आज हामीमाझ हुनुहुन्न । तर, उहाँको संघर्ष, परिवर्तन र सफलताले सधैं प्रेरणा दिइरहन्छ । मलाई गर्व लाग्छ, दुव्र्यसनमा परेका व्यक्तिहरूलाई केवल आलोचना गरेर होइन । माया, विश्वास, सम्मान र अवसर दिएर सही बाटोमा ल्याउन सकिन्छ । यदि परिवार, समाज र सम्बन्धित निकाय सबैले यस्तै सोच राख्ने हो भने लागूऔषध दुव्र्यसनको समस्या धेरै हदसम्म कम गर्न सकिन्छ । स्वस्थ समाज निर्माण गर्न सकिन्छ ।